देवीले गाँजा खाएको, कालोबिरालो चढेर रक म्युजिक सुन्न गएको चित्र
नेपाली समाजमा नारीलाई देवीको संज्ञा दिइन्छ तर म आफैं नारी भएर यो संज्ञालाई व्यवहारमा भिन्नै रुपमा भोगिरहेको छु। त्यसैले नारीमाथि भनिने एउटा र व्यवहार भने अर्कै रहने परम्परा नै भएको छ।
यसलाई अभिव्यक्त गर्न मैले नवदुर्गाहरुको स्तुति गरेर मनाइने राष्ट्रिय पर्व दशैँको अवसर पारेर चित्रहरुको श्रृंखला तयार गरिरहेकी छु। यी चित्रहरुमार्फत् नेपाली नारीहरुलाई महान देवीहरुको प्रतीक मानेर अथ्र्याउने प्रयास गरेकी हुँ।
देवीको प्रतिमूर्ति मानिन्छन् नारी। यिनै नारीलाई यदि हामीले देवीकै रुपमा अगाडि सारेर हाम्रो समाजमा गरिने नारीमाथिको विभेद र दुव्र्यवहारलाई थोरै मात्र पनि देखाउने प्रयास गरियो भने समाजले कसरी लिन्छ होला?
आफूलाई पितृसत्ताको द्वारपाले ठान्नेहरुले कस्तो प्रतिक्रिया जनाउँलान् ? दशैँको अवसरमा नवदुर्गाका मन्दिरहरुमा वन्दना गर्न पुगेका भक्तहरुले यी चित्रहरुलाई कसरी लेलान् ?
‘भन्नलाई पो देवी हो तर व्यवहारमा महिला कहाँ देवी हुन् र !’ भन्ठान्नेहरुलाई चित्रहरुमार्फत् यथार्थबोध गराउने प्रयत्न मैले गरेकी हुँ।
यथार्थमा, उनीहरुको देवीभक्ति जीवीत देवीहरुप्रति कस्तो रहला? घट्ला कि बढ्ला? धार्मिक आस्थामाथि प्रहार गरेको ठान्लान् कि– ओहो यतातिर त हाम्रो ध्यान गएको रहेनछ भन्ने महसुस होला?
पुरुषले गाँजा खाए स्वास्थ्य बिग्रन्छ तर महिलाले गाँजा सेवन गरे उसको चरित्रमाथि नै प्रश्न उठाइन्छ। दोष थोपरिन्छ। यस्तै कुरालाई चित्रहरुमा उतार्ने प्रयत्न गरिएको छ।
घर–घर ओहोरदोहोर गरिरहने तर ‘बोक्सी–किचकन्नी’ आदिजस्ता अन्ध विश्वाससँग जोडेर अलच्छिनको प्रतीक मानिने कालो–बिरालोलाई देवीले बाघको सट्टा आफ्नो बाहन बनाइन् भने ती देवीको मन्दिरमा भक्तजन प्रवेश गर्लान् कि नगर्लान् ? भजनको सट्टा कन्सर्टहरु धाइ ‘रक–म्युजिक’ सुन्ने कालीबारे समाजले कुरा काट्ला कि नकाट्ला?
महिलाले के खाए, के लाए र कता गए भन्ने कुरालाई चरम चासोको विषय बनाई त्यसलाई राष्ट्रवाद र संस्कृतिसँग जोड्नेहरुसँग सहमत हुन सकिँदैन। यी चित्रहरु त्यसैविरुद्धको असहमति हो।
समाजले बनाएको ‘आदर्श नारी’को धारणालाई मन्दिरका देवीहरुले चुनौती दिए भने समाजले उनीहरुलाई पुज्ला कि नपुज्ला? नवरात्रीमा देवीस्थानहरुमा घुइँचो लाग्ला कि नलाग्ला?
सबैलाई अवगत नै छ– यहाँ छोरा जन्मिए मिठाइ बाँडिन्छ। छोरी जन्मिई भने सहानुभूति जनाइन्छ। त्यहीँ छोरीबारे बिगुल फुकिन्छ– ‘यत्रनार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता ...’ अर्थात जता नारीको पूजा हुन्छ, देवता त्यतै रमाउँछन् ! तर यथार्थमा यसैको ठीक विपरित व्यवहार भइरहनु एक्काइसौं शताब्दीमा पटक्कै सुहाउने कुरा होइन।
नारीकोअस्तित्वलाई अस्वीकार गरी उनीहरुमाथि गरिने असमान व्यवहार हाँस्यास्पद छ। यसविरुद्ध सचेतना बढिसकेको छ तर पनि नारीमाथि रवाफ जमाउनेहरुको अझै कमी छैन। यस्तै अवस्थालाई निरन्तरता दिइरहने हो भने एक दिन सबै देवीहरु जुर्मुराएर बिद्रोहमा उत्रनेछन्।
शर्माको पेन्टिङ हेर्न यहाँ क्लिक गर्नुहोस्