कक्षा ९ का रमेश आँखा देख्दैनन्। उनीझैँ डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकामा पर्ने शाजेन्द्रश्वर मा.विमा पढ्ने १० बिद्यार्थीहरू छन्। शाजेन्द्रश्वर मा.विमा बिशेष बिद्यार्थीहरूको पढाइ हुने गर्छ। विद्यालयको पठनपाठन र पर्यावरण अत्यन्तै राम्रो भएपनि रमेश र उनका साथीहरूको विद्यालयमा शौचालय प्रयोग गर्न समस्या भइरहेको गुनासो लामो समयदेखि थियो। सामान्य बिद्यार्थीहरूले प्रयोग गर्ने शौचालय नै उनीहरूले प्रयोग गर्नुपर्ने बाध्यता थियो।
उता रमिलालाई बिगतमा विद्यालय आउनुपूर्व खानेपानी र शौचालय जानुपर्ने चिन्ताले सताउँथ्यो। कक्षा ९ मा पढ्ने रमिला दुर्गन्ध र बाहिरबाट पानी बाेकेर शौचालयभित्र जान केटासाथी र शिक्षकहरूका अगाडि लजाउँथिइन्। आजभोलि भने विद्यालय जान चिन्ता लाग्दैन। उनी ढुक्कसाथ समयमै विद्यालय जान्छिन्। विद्यालयको प्राङ्गगणमा चौविसैं घन्टा पानी आउने धारा छन्। छात्र छात्राका लागि अलग–अलग चिटिक्क मिलेका शौचालयहरू छन्। ‘विगतमा जस्तो न पानी सुक्ला भन्ने डर। न त पालो कुर्नु पर्ने हतारो नै हुन्छ’, उनले भनिन्।
डोटीको सदरमुकाम सिलगढीबाट १२ किमि टाढा हाइवेको छेवैमा छ, साजेन्द्रेश्वर मा.वि. जङ्गलको बीचमा छ विद्यालय। खुला खेल मैदान, प्रसस्त भौतिक संरचना भएको विद्यालयमा ५ सय १२ विद्यार्थीहरू अध्ययनरत छन्। विद्यालय संचालनमा आएदेखि नै पानी र शौचालयको चर्को समस्या थियो। अव्यवस्थित खानेपानी मुहानवाट पाइपमार्फत ल्याइएको पानी विद्यार्थी र शिक्षकहरू प्रयोग गर्दै आएका थिए।
‘बीच बीचमा पाइप टुट्थ्यो। नियमित पानी नआउँदा हैरान भइन्थ्यो’ कक्षा ६ मा अध्ययनरत छात्रा अनिता भन्छिन्,‘आइहाल्दा पनि एउटै धारा भएका कारण हातमुख धुन र पिउनका लागि पालो कुर्नुपर्ने अवस्था थियो।’
शौचालयमा पानी प्रयाप्त नहुँदा शौच गर्न प्लास्टिकको सानो डिब्बा प्रयोग गर्नुपर्ने बाध्यता रहेको शिक्षिका पशुपतिले बताइन्। कक्षा ७ कि सरस्वतीले त्यही प्लाष्टिकको डब्बा पनि खोज्दा नभेटिने भएकाले कहिलेकाँही शौचालय नै नजाने समस्या भोग्नु परेको बताइन्। फोहरको डङ्गुरजस्तै शौचालय हुने गरेको सरस्वतीले दुःख सुनाइन्।
‘शौचालयमा पस्नै सकिँदैन थियो। नाक च्यापेर भित्र पसिहाले पनि चुकुल हुँदैन थियो’, बिगतका कुरा सम्झिँदै कक्षा ८ का रमेशले भने,‘एकजना साथीले बाहिर चौकिदारी गर्नुपर्ने अर्कोले नाक च्याप्दै भित्र पस्नु पर्ने हुन्थ्यो।’
बिगतमा विद्यार्थीहरूले पानी पिउन जाने ठाउँ भनेको विद्यालय नजिकको खावड ताल हो। जहाँ पुग्न ५ मिनेट जति हिँड्नु पर्थ्याे। पातपतिङ्गर कुहिएको उक्त तालको पानी पिउन उचित थिएन तथापि तिर्खाएका बालबालिकाहरू त्यही पानी पिउँथे। कक्षा ६ मा अध्ययनरत छात्रा आरती भन्छिन्– ‘त्यतिबेला पानी खान र सरसफाइका लागि निकै असजिलो थियो।’
वर्ल्ड भिजन र सामुदायिक विकास केन्द्रको सहयोगमा समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना लागु भएपछि भने शाजेन्द्रेश्वर माविमा खानेपानी तथा शौचालयको सरसफाइमा सुधार आएको छ।
परियोजनाले विद्यालयमै ३ हजार लिटर क्षमताको खानेपानी ट्यांङ्की बनाइदिएपछि बिद्यार्थी र शिक्षकहरूलाई खानीपानीको समस्या नभएको व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुरले बताए। खानेपानीको रिजर्भ ट्याङ्कीसँगै परियोजनाले बालमैत्री खानेपानी धारा, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय बनाइदिएपछि विद्यालयले लामो समयदेखि भोग्दै आएको समस्या टरेको अध्यक्ष लोक बहादुर बताउँछन्।
परियोजना प्रमुख टङ्क जोशीका अनुसार परियोजनाले ८ लाख ७० हजारमा विद्यालयको समस्यालाई मध्यनजर गरी ३ हजार लिटर क्षमताको खानेपानी ट्यांकी, २ वटा बालमैत्री खानेपानी धारा, दुई/दुई कोठाका दुई वटा पक्की शौचालय निर्माण गरेको छ। शौचालयभित्रै धारा भएकाले सरसफाई गर्न सहज भइरहेको छात्रा निर्मला खड्काले बताइन।
‘पहिले जस्तो शौचालयमा पानी लग्न प्लाष्टिकको डब्बा खोज्नु पर्ने झन्झट अहिले छैन’, कक्षा ९ की निर्मलाले भनिन्,‘अहिले त शौचालयमै धारा छ, टायल पनि बिछ्याएकाले सफा भइरहन्छ।’ अर्की कक्षा ९ की छात्रा पार्वतीले विगतमा डब्बा बाेकेर केटासाथी र शिक्षकहरूको अघि शौचालय जान निकै लाज लाग्ने भएकाले दिसा पिसाब च्यापेर बस्नुपर्ने अवस्था रहे पनि अहिले त्यसमा सुधार भएकाले खुसी महसुस भएको बताइन्।
शिक्षिका पशुपति खड्काले साना ठूला सबै वालवालिकाको पहुँच पुग्ने गरी खानेपानीका धारा जडान गरिएकाले विद्यार्थीहरूलाई पानी पीउन, सरसफाई गर्न समस्या नभएको बताइन्।
‘नियमित रुपले पानीको सुविधा नहुँदा महिनावारी भएको समय निकै समस्या थियो,’ शिक्षिकाले बताइन्,‘अहिले त त्यसको चिन्ता नलिई निर्धक्कसँग विद्यालयमा सरसफाई गर्न मिल्छ।’