देश बनाउन योग्य व्यक्ति चाहिँदो रहेछ । हाम्रो देशको सन्दर्भमा राजनीतिक व्यक्तिहरूले देश र जनताका समस्यालाई राजनीति गर्ने एजेन्डा बनाउने तर ठाउँमा पुगेपछि आफ्नो र आफन्जनको पालन पोषणमा अभ्यस्त हुने संस्कारले सुशासन शब्दमा मात्र सीमित रह्यो । विकास चुनावी घोषणापत्रमा मात्र सीमित रह्यो । प्रजातन्त्रका तीन दशकमा २७ पटक सरकारहरू फेरिए । व्यवस्था बद्लियो । विभिन्न दलका व्यक्तिहरू प्रधानमन्त्री वा मन्त्री भए । तर, जनताको अवस्था बद्लिएन । बरु कुशासन बढ्यो । भ्रष्टचार व्याप्त भयो । बेरोजगार विकराल सामाजिक समस्याको रूपमा राज्यका अगाडि खडा भयो । उद्योग धन्दाहरू खुलेनन् । सरकारी लगानीमा रहेका धेरै जसो उद्योग तथा संस्थान घाटामा गए । विभिन्न आस्था र विचार बोकेका राजनीति दलहरूबाट यो अवधिमा जनतालाई भ्रममा पार्ने काम गरियो । विचार र व्यवस्था सञ्चालन गर्ने व्यक्ति योग्य नभएको कारण प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, गणतन्त्र जे भनिए पनि समस्याहरू ज्यूँका त्यूँ रहे । जनताले कतै पनि सुधारको अनुभूति गर्न पाएनन्।
एउटा सक्षम व्यक्ति नेतृत्वमा पुग्यो भने उसले देश विकास र नागरिकको जीवनस्तरमा कायापलट गर्न सक्दो रहेछ । पछिल्लो समयमा चीनका राष्ट्रपति सिजिङ पिङ्ले गरेको प्रगति, मलेसियाका मोहम्मद महाथिरले गरेको विकास, इतिहासमा स्मरण गर्न योग्य सिङ्गापुरका विकास प्रेमी राजनेता लि क्वान यु, दक्षिण अफिकाका नेल्सन मन्डेलालगायतका कतिपय देशका व्यक्तिहरूको त्याग, तपस्या, भिजन, मिसन र एक्सनले ती देशले विकासको फड्को मार्न सफल भए । जनताले भौतिक विकासको अनुभूति गर्न पाए । हाम्रो देशमा राजनीतिक विचारको विकास र व्यवस्था परिवर्तनका लागि विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता प्रजातान्त्रिक नेताहरूको योगदान रह्यो ।