पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ८४ प्रतिशत निर्माण सकियो, सञ्चालनमा ल्याउन अझै २५ मिटर डाँडा काट्नुपर्ने

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकिएको छ।

विमानस्थलको भौतिक निर्माण लगभग सकिए पनि प्राविधिक काममा आएको समस्याले निर्माण कार्यमा ढिलाई भईरहेको आयोजनाले जनाएको छ।

विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीका अनुसार विमानस्थल क्षेत्रभन्दा बाहिर उत्तरतर्फ पृथ्वीराजमार्ग र भित्री सडक हुँदै सेती नदी र काहुँखोलादेखि सिँचाइका लागि बनाइएको नालाको पानीले वर्षातको समयमा नहरको पानीमा परिणत भई धार फेरेर विमानस्थल क्षेत्रमा क्षति पुर्‍याउने बताएका छन्। यसलाई व्यवस्थित पार्न ३४ करोड रुपैयाँ चाहिन्छ।

यस्तै विमानस्थल सञ्चालनमा ल्याउन विमानस्थलको उत्तरी भागमा रहेको रिट्ठेपानीको डाँडा २५ मिटर काट्नुपर्छ। डाँडा कटानको काम अघि बढ्न सकेको छैन।

‘डाँडाको नीजि क्षेत्रमा कटान कार्य सुरु भइसकेको छ तर सरकारी वनको जमिन रहेको ठाउँमा समस्या रहेको छ। इआएए रिपोर्ट नबनेकाे कारण डाडा कटानमा समस्या छ,’ उनले भने।

विमानस्थल निर्माण आयोजनामा आएको समस्यालाई आयोजनाबारे बुधबार विमानस्थलमा मुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्रीसमेत निरिक्षणमा पुगेका थिए। डाडा कटान, नहरको समस्या, आयल डिपोसँगै मुनकर्मिले मुख्यमन्त्रीको अघि विजयपुर खोला छेउको जग्गामा पहिरो जाने सम्भावना र पोखराको 'स्यानिटरी ल्यान्डफिल्ड' साइटका कारणले आउने समस्याबारे बताएका थिए।

‘नेपाल आयल निगमले अहिलेसम्म आयल डिपो राखेको छैन। विमानस्थलको करिब दुई किलोमीटर दुरिमा पोखराको स्यानिटरी ल्यान्डफिल्ड साइट छ। जसकारण विमानस्थल सञ्चालनमा चराले जोखिम निम्त्याउन सक्छन्। हालसम्म सो साइट स्थानान्तरण गर्ने प्रक्रिया अघि बढेको छैन,’ उनले भने।

प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आएको समस्या समाधान गर्ने बताएका थिए।

हालसम्म विमानस्थलको ८४ प्रतिशत काम सकिएको छ। विमानस्थलमा अहिले १ सय ८५ जना चिनियाँ र २ सय ३० जना नेपाली गरि ४ सय १० जना कामदारले काम गरिरहेका छन्। विमानस्थल ३८ सय ९९ रोपनी क्षेत्रफलमा बन्दै छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ कम्पनी सीएएमसीबीच सन् २०२१ जुलाईभित्र निर्माण सक्ने गरी २०१४ मा सम्झौता भएको थियो। २२ अर्ब रुपैयाँको लागतमा २०७४ असार मसान्तदेखि विमानस्थलको काम सुरु भएको थियो।

प्रकाशित मिति: : 2021-09-30 08:32:00

प्रतिकृया दिनुहोस्