भारतमा थप ३१ हजार जनामा कोरोना संक्रमण

बिएल संवाददाता

नयाँ दिल्ली
File Photo
File Photo

 भारतमा कोरोना भाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ संक्रमित फेला परेका छन्। योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारी अनुसार नयाँ संक्रमितमध्ये १९ हजार ६८२ जना केरलाका मात्रै रहेका छन्। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन लाख १६२ पुगेको छ। यो सङ्ख्या १८८ दिनपछिकै सबैभन्दा कम हो।

पछिल्लो समय भारतमा महामारी निकै कम हुँदै गएको छ। नयाँ संक्रमित भएकाहरू भन्दा संक्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै देखिएकाले सक्रिय संक्रमितहरुको सङ्ख्यामा कमी आएको हो।

पछिल्लो २४ घण्टामा ३२ हजार ५४२ जना कोरोना भाइरसबाट संक्रमितमुक्त भएको अधिकारीहरूले जानकारी दिएका छन्। भारतमा अहिलेसम्म कुल तीन करोड २८ लाख ४८ हजार २७३ जना कोरोनाभाइरसबाट संक्रमितमुक्त भएका छन्।

कोरोनाका कारण भारतमा अहिलेसम्म चार लाख ४६ हजार ३६८ जनाको मृत्यु भएको छ। ती मध्ये ३१८ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-09-24 14:19:00

प्रतिकृया दिनुहोस्