राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले निर्धोलाई, सम्पन्नले विपन्नलाई तथा टाठाबाठाले निमुखालाई थिचोमिचो गर्ने, हेयको दृष्टिले हेर्ने प्रचलन बढ्न थालेपछि तत्कालीन मध्य देशका जनतामा समाजमा सबैले समान रूपमै बसोबास गर्न पाउनुपर्छ । कोही कसैबीच भेदभाव गरिनुहुँदैन भन्ने मानसिकता विकसित भयो । यसैको परिणाम कसैले कसैलाई अन्याय र थिचोमिचो गर्न नपाओस् । सबैले आआफ्नो पेसा व्यवसाय निर्धक्क रूपले सञ्चालन गर्न पाऊन् भन्ने उद्देश्यले समाजकै रेखदेख गर्ने नाइके छान्ने निर्णयमा जनता पुगे । यस क्रममा नाइके बन्न रुचाउने व्यक्ति पनि धेरै देखापरे । तथापि, मध्यदेशकै जनताले व्यक्तिको विगतकै पृष्ठभूमिकै आधारमा पहिलो मनुलाई मध्य देशको नाइके चुने । यसरी जनताबाटै चुनिएका आर्यवंशका प्रथम मनु मध्यदेशकै पहिलो राजा बने ।
मनुले आफ्नो शासनकालमा अयोध्यालाई मध्यदेशको राजधानी बनाए । तत्कालीन मध्यदेश गंगानदी उत्तरमा पथ्र्याे । मध्यदेश तत्कालीन विदेह राज्यकै भूभागअन्तर्गत पथ्र्याे भन्ने दृष्टिकोण कतिपय भारतीय इतिहासकारको रहँदै आएको छ । कालान्तरको विदेह राज्य नै पछि तिरहुन हुँदै मिथिला राज्यमा परिणत भएको थियो । एकताका मिथिला राज्यको सीमा पूर्वमा कौशिकी नदी, पश्चिममा शालीग्राम नदी, उत्तरमा हिमालय पर्वत र दक्षिणमा भागिरथी गंगा नदीसम्म फैलिएको थियो । यस आधारले तत्कालीन मध्यदेशको राजधानी अयोध्या नेपालकै माडीस्थित अयोध्यापुरी हुन सक्ने सम्भावना पनि अनेकौं पाइएका छन् । प्रथम मनुलाई जनताले राजा छान्नुको कारण उनको स्वच्छ र उदार कार्यशैली नै थियो । राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भन्ने दृष्टान्त पनि करिब ५ हजार वर्ष पहिलेकै हो । स्मरण रहोस्, पहिलो मनुकै पुस्ताका ६४ पिँढीका राजा दशरथ थिए ।
मनुले प्रतिपादित गरेको कतिपय राजनीतिक सिद्धान्त मनुस्मृतिमा पनि पाइन्छ । मनुले प्रतिपादन गरेकै राजनीतिक मूल्यमान्यता समयानकूल हेरफेर, परिवर्तन एवं सुधार हुँदै आएका हुन् । जुन अहिले पनि उत्तिकै अनुकरणीय छन् । यसको मुख्य आशय नै राजनीतिक व्यक्तिको व्यवहार र कार्यशैली सबैका निम्ति उदार, लोकप्रिय र प्रभावकारी हुनुपर्छ भन्ने नै हो । तर, मनुको पालामा पूर्वबौद्धिक युगमा स्थापित भएको मूल्य मान्यता वैदिक युग, उत्तर वैदिक युग हुँदै अहिलेको अवस्थामा आइपुग्दा पूर्णरूपमा परिवर्तन भएको देखिन्छ । जसको कारण राजनीतिमा अहिले त कार्यशैलीको होइन व्यक्तिकै बढी महत्व हुन्छ भन्ने दृष्टिकोण विकसित भएको छ ।
नेपालको सन्दर्भमा राजनीतिक मूल्य मान्यताले भन्दा व्यक्तिले महत्व पाउने दृष्टिकोणले राजनीतिलाई विकृत अवस्थामा पु¥याएको छ । राजनीतिक गतिविधि देश र जनताको हितमा होइन दल र नेताकै हितमा सञ्चालित हुनुपर्छ, सार्वजनिक महत्वका विषयले भन्दा समूहगत स्वार्थले बढावा पाउनुपर्छ भन्ने मानसिकताले राष्ट्रिय राजनीति प्रभावित बन्दै आएको कारण अहिले जनतामा नैरास्यता छाएको छ । अहिले राजनीति जनसेवामा होइन आर्जनको पेसामा परिणत भएको । आमनागरिकको हितमा होइन राजनीति व्यक्तिगत एवं दलीय हितमा केन्द्रित भएको छ । जनअपेक्षा सम्बोधन गर्नुपर्ने राजनीतिले अहिले समूहगत एवं निजी अपेक्षा पूरा गराउँदै ल्याएको छ । मनुको शासनकालमा विकसित भएको राजनीति पूर्णरूपमा परिवर्तन भएको यो दृष्टान्त पनि हो । यहाँ राष्ट्रिय राजनीति मनुकै पालाको जस्तो हुनुप¥यो भन्न खोजिएको भने होइन । स्वार्थले राजनीतिलाई परिवर्तन गरायो भने आशय मात्रै व्यक्त गरिएको हो ।