सार्क मन्त्रिपरिषद् बैठक रद्द, के सदस्य राष्ट्रहरूले तालिबानकाे सहभागिता अस्वीकार गरेका हुन्?

Photo: Shutterstock
Photo: Shutterstock

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)काे न्यूयोर्कमा आयोजना गर्ने भनिएको मन्त्रिपरिषद्काे अनौपचारिक बैठक रद्द भएको छ।

संयुक्त राष्ट्रसंघीय महासभाका क्रममा नेपालले अगुवाइ गर्ने साइडलाइन बैठक यस वर्ष सदस्य राष्ट्रबीच सहमति नहुँदा रद्द भएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ।

गत वर्ष कोरोना महामारीको कारण भर्चुअल सार्क विदेश मन्त्रीहरूको अनौपचारिक बैठक गरिएकाे थियाे।

अधिकांश सदस्य राष्ट्रहरूले भर्खरै अफगानिस्तानमा सत्ता कब्जा गरेकाे तालिबानकाे सहभागिता अस्वीकार गर्दै बैठक रद्द गरेकाे भारतीय सञ्चारमाध्यमले दावी गरेका छन्। तर नेपालकाे तर्फबाट अफगान सरकारलाई पत्र गएपनि यसपल्ट प्रतिनिधित्व हुने अवस्थf नभएकाे विज्ञहरूकाे भनाइ छ।

सार्क मन्त्रिपरिषद्काे अनौपचारिक बैठक रद्द गर्नुकाे खास कारण बाहिर नआएपनि कतिपयले तालिबान, भारत र पाकिस्तानकाे मतभेद ठानेका छन्। उनीहरूबीच सहमति हुन नसकेपछि २५–सेप्टेम्बरमा आयोजना गर्ने भनिएको सार्क विदेश मन्त्रीहरूको बैठक रद्द गर्नुपरेको बताइन्छ।

तालिबानले गत अगस्ट १५ मा अफगानिस्तानकाे लोकतान्त्रिक सरकारलाई पराजित गर्याे। अगस्त ३१ मा काबुलबाट अमेरिकी सेना फिर्तापछि तालिबानले अन्तरिम मन्त्रिमण्डलसमेत गठन गरेकाे छ।

आतंकवादी समूहको शक्तिशाली केन्द्रका प्रमुख मुल्ला अखुन्दको नेतृत्वकाे सरकारमा अमिर खान मुत्तकी कार्यवाहक विदेश मन्त्री नियुक्त भएका छन्।

अफगानिस्तान सार्कको सबैभन्दा कान्छो सदस्य राष्ट्र हो। यस बाहेक नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तान छन्। सार्क सचिवालय सन् १९८७ जनवरी १७ ताका काठमाडौंमा स्थापित भएको थियो।

यस समूहमा अन्य ९ पर्यवेक्षक सदस्यहरू समेत छन्, जसमा चीन, युरोपेली संघ (ईयू), इरान, कोरिया द., अष्ट्रेलिया, जापान, मिरशस, म्यानमार र अमेरिका।

प्रकाशित मिति: : 2021-09-22 06:16:00

प्रतिकृया दिनुहोस्