एमालेमा ७० वर्षे उमेर हद कायमै, अध्यक्षसहित सबै पदाधिकारी निर्वाचित हुने

File Photo
File Photo

नेकपा एमालेले अध्यक्षसहितका सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने र ७० वर्षे उमेर हद कायमै रहने व्यवस्थाको प्रस्ताव गरेको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा भएको स्थायी कमिटी बैठकमा संगठन विभागले सबै पदाधिकारी निर्वाचित हुने र ७० वर्षे उमेर हदको व्यवस्था कायम राखेकाे हाे।

यसअघि एमालेले अध्यक्ष निर्वाचित हुने र बाँकी पदाधिकारी अध्यक्षले मनोनीत गर्ने निर्णय गरेको थियो। 

बैठकमा युवराज ज्ञवाली, घनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, डा. पुष्प कँडेलले भाग लिएका थिए। स्थायी कमिटीले यही असोज १५ देखि १७ गते हुन ललितपुरको गोदावरीमा विधान महाधिवेशन तय गरेको छ।

एमालेको केन्द्रीय कमिटीको गत साउन २५ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णयका आधारमा तयार विधानको मस्यौदा प्रस्ताव मातहतका कमिटीमा सुझावका लागि पठाएको थियो। विधानमा पार्टीको प्रमखु पदमा उमेर हद, कमिटीमा निर्वाचन प्रणाली, सङ्घीयता अनुकूलका व्यवस्थामा छलफल भइरहेको जनाइएको छ।

प्रतिवेदनमा स्थायी कमिटीका प्राप्त सुझावका आधारमा यही असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने जनाइएको छ। एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने तय गरिएको छ। एमालेले राष्ट्रिय महाधिवेशनपूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको छ।

प्रकाशित मिति: : 2021-09-19 21:06:00

प्रतिकृया दिनुहोस्