पदकमा ओलीको आक्रोश : आज श्रीमतीको मुख हेर्ने दिन हो ? बाउको मुख हेर्ने दिन हो ?

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेता र नेताका परिवारका सदस्यलाई पदक बाँडिएकोमा आक्रोश पोखेका छन्।

सरकारले सातौं संविधान दिवसका अवसरमा सत्ता गठबन्धनका नेताहरू पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहाल, माधव कुमार नेपालका पिता मंगलकुमार उपाध्याय र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पदक दिने निर्णय गरेपछि ओलीले आक्रोश पोखेका हुन्।

'आजको गठबन्धनले के गर्दैछ, ७० दिनमा पूर्णता पाउन सकेको छैन। कति हाइसञ्चो छ हेर्नुस् त। संविधान दिवस जनताले मनाउन पाउनुपर्ने, सहिदका परिवारले खुसियाली मनाउन पाउने, मनाउने अवसर छैन। जनतालाई होइन बालाई सम्मान ? श्रीमतीलाई सम्मान ? अघिल्लो पटक सुपत्रीलाई सम्मान, अर्को सुपुत्रलाई महान सम्मान ? कस्ता भोका, झुटाहहरू सत्तामा पुगेका रहेछन्, कस्तो अचम्म,' ओलीले भने।

उनले प्रचण्डकी श्रीमती र माधवका पिताले पदक पाएको तर्फ संकेत गर्दै सोधे, 'शहिदका आमा बुवा, छोराछोरीले नपाउने ? आज श्रीमतीको मुख हेर्ने दिन हो ? बाउको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?'

बाहिर जनताका लागि राजनीति गरेको भन्ने र मौका पाएका परिवारका सदस्यलाई बोक्ने भन्दै ओलीले पदक पनि लजाएको टिप्पणी गरे।

'कस्तो भोक, आकांक्षा, तृप्ती हो ? बाहिर म जनताका लागि हो भनेर बोल्ने, परिवारका लागि होइन भन्ने। मौका पाउँदा हेर्नुस् त। ति विभूषण, मानपदवी लजाइरहेका छन्, हेर्नुस् त शरम मान्या छन्। बोल्न सक्ने भए उफ्रिन्थे तिनी। तर, बोल्न सक्दैनन। लज्जाजनक छ,' उनले भने।

आफ्नो सरकारविरुद्ध लेख्ने पत्रकारलाई पदक बाँडेको भन्दै ओलीले आक्रोश पोखे। 'अघिल्लो लोकप्रिय सरकार, सुशासन पक्षको सरकारका एक पनि सकारात्मक समाचार नदिने सञ्चारमाध्यम र तिनका पत्रकारलाई छानीछानी पदक दिएको छ। खोजी पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा लागेकालाई दिए हुन्थ्यो,' उनले भने।

झगडिया, मुद्दा हाल्ने, तथानाम बोल्ने, जे पायो त्यहीँ बोल्नेलाई पदबाट सम्मानित गरेकोमा ओलीको आक्रोश थियो। 'दुईचार छुटे जस्तो लाग्यो। तिनलाई किन छोडेको होला ?' ओलीले प्रश्न गरे, 'मुद्दा जिताइदिने, हराइदिने, कता तराजु फर्काइदिने, आँखामा पट्टी बाधेको हुन्छ। न्यायमूर्तिहरुले तराजु कता फर्काइने ? सबैका लागि यो लज्जाजनक विषय हो। इतिहासले निर्मम मूल्यांकन गर्नेछ।'

आफ्नैलाई बाँड्ने राष्ट्रपतिबाट नभइ सिधै घर लगेर बाँड्न उनको सुझाव थियो। 'किन राष्ट्रपतिबाट बाँडिरहनुपर्‍यो ? आफैँ आफैँ घर लगेर जाउ न। आफैँ बाँडौं न,' उनले भने।  

प्रकाशित मिति: : 2021-09-19 14:23:00

प्रतिकृया दिनुहोस्