विश्वकप क्रिकेट लिग–२ : अमेरिकासँग नेपाल पराजित

All Photo: CAN
All Photo: CAN

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अमेरिकासँग नेपाल पराजित भएकाे छ। शुक्रबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई ६ विकेटले पराजित गर्दै गरेकाे हाे। 

नेपालविरुद्ध टस जितेर बलिङ गरेको अमेरिकाले पाएको १ सय ७५ रनको टार्गेट २९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १७५ रन पूरा गरेको हो। अमेरिकाको जितमा स्टेभन टेलरले सर्वाधिक ९२ रन बनाए। बिष्फोटक ब्याटिङ गरेका टेलरले ६३ बलमा ३ छक्का र १२ चौका प्रहार गरेका थिए। शतक बनाउन ८ रनले चुकेका टेलरलाई करण केसीले सोमपाल कामीको हातबाट क्याच आउट गराएका थिए। 

यस्तै, अमेरिकाको लागि मोनान्क पटेलले ३८ तथा कप्तान जास्करन मलहोत्राले ३६ रनको योगदान गरे। अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन्।

नेपालको लागि करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए। ८ ओभर ब्याटिङ गरेका सन्दीपले १ मेड लिएर २८ रन खर्चिए। यस्तै ५ ओभर बलिङ गरेका करणले २३ रन खर्चिए।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकमा अमेरिकालाई १ सय ७५ रनको लक्ष्य दिएको छ। ज्ञानेन्द्रले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए।

राष्ट्रिय टोलीमा डेब्यूट्यान्ट गुल्शन झासँग ५१ रनको साझेदारी गर्दै कप्तान मल्लले नेपालका लागि महत्वपूर्ण ५० रन पूरा गरेका थिए। ओपनर कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख ३ रनमा आउट भए।

त्यस्तै, रोहित पौडेल २ मा पेभेलियन फर्किँदा विनोद भण्डारीले १० रन मात्र जोडेर आउट भए। डेब्युट्यान्ट गुल्शनले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रनको योगदान गरे। त्यस्तै कुशल मल्ल, सोमपाल कामी २ र करण केसी १२ रन बनाएर पेभेलियन फर्केका थिए। त्यस्तै सन्दीप लामिछाने ११ रन जोडेर अन्तिम विकेटको रूपमा आउट हुँदा सुशन भारी २ रनमा अविजित रहे।

अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १/१ विकेट लिए।

सोमबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै पराजित भएको नेपालको यो तेस्रो खेल हो।

लिग–२ मा नेपाल ७ खेलमा ६ अंक जोडेको छ। अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।  ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2021-09-18 09:28:00

प्रतिकृया दिनुहोस्