एएफसी महिला एसियन कप छनोट खेलमा सहभागी टोलीका सदस्यहरूको नियमित पीसीआर परीक्षणको प्रावधान गरिएको छ।
यस्तै औपचारिक बैठक, आवतजावतका क्रियाकलापलाई न्यूनीकरण गरिएको छ। अभ्यास समय र खेलका दिनबाहेक कुनै पनि टोलीलाई होटेलको हाता बाहिर जान दिइएको छैन।
टोलीका अफिसियलहरूका बैठक तथा प्रेससँगको भेटघाटलाई पनि सकेसम्म भर्चुअल आयोजना गरिएका छन्।
बिहीबार प्रि–म्याच कन्फरेन्समा सहभागी टोलीका मुख्य प्रशिक्षकहरूले सहभागिता जनाए भने खेलपछिका पत्रकार सम्मेलन पनि कोरोनाभाइरसका कारण आयोजना नगरिने आयोजकले बताएको छ।
कोरोनाभाइरसकै कारण खेलहरू हेर्न दर्शकहरू आउन पाउने छैनन्। मिडिया सेन्टरको प्रावधान पनि हटाइएको छ। यसैबीच, आफ्नो पहिलो खेलको एक दिन अगाडि नेपाली टोलीले पीसीआर परिक्षणका लागि स्वाबको नमुना दिएका छन्।
उज्वेकिस्तान पुगेपछि यो नेपाली टोलीको दोश्रो पीसीआर परीक्षण हो। पहिलो परिक्षणमा सबै नतिजा नेगेटिभ आएको थियो।
नेपालले समूह एफ मा भोलि फिलिपिन्स र ५ असोजमा हङकङको सामना गर्दै छ। समूहको विजेता भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ।