एमालेले भन्योः सरकारकै कारण वित्तीय संकटको परिस्थिति सिर्जना भयो

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेले प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारण वित्तीय संकटको परिस्थिति सिर्जना भएको आरोप लगाएको छ।

एमाले महासचिव ईश्वर पोखरलले बुधबार विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष सुरु भएर लामो समय गुज्रिसक्दा पनि प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेकै कारण वित्तीय संकटको परिस्थिति सिर्जना भएको बताएका हुन्।

एमालेले लामो तयारीपछि ल्याइएको प्रतिस्थापन विधेयकले बजेटरी सिद्धान्त र वित्तीय अनुशासनलाई समेत उल्लंघन गरेको जनाएको छ।

सरकारले विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च बृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको एमालेको आरोप छ।

सन्तुलित विकासको अवधारणाअनुरुप प्रतिनिधिसभाका सदस्यहरूको आग्रहमा अघि बढाएको निर्वाचन क्षेत्रस्तरीय रणनीतिक सडक र पालिका जोड्ने पहुँच मार्गलगायतका १४०० भन्दा बढी विकास आयोजना कटौती गर्नपुगेको विज्ञप्तिमा उल्लेख गरेको छ।

एमालेले बजेटजस्तो संवेदनशील विषयमा सरकारले उदासिनता र गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप लगाएको छ।

‘सरकारले अनिवार्य दायित्वभित्र पर्ने वित्त व्यवस्थापनको बजेट कटौती गर्ने गैरजिम्मेवार काम गरेको छ। नेकपा (एमाले) बजेटजस्तो संवेदनशील विषयमा सरकारको उदासिनता र गैरजिम्मेवार रवैयाप्रति खेद व्यक्त गर्दछ। प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर्न सरकार र प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण गर्दछ, विज्ञप्तिमा भनिएको छ।’

प्रकाशित मिति: : 2021-09-15 16:22:00

प्रतिकृया दिनुहोस्