'नमस्ते पे'बाट विद्युत र खानेपानीको महसुल भुक्तानी सेवा

नेपाल टेलिकमको सहायक कम्पनीको रूपमा रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ।

मंगलबार एक कार्यक्रममार्फत कम्पनीले ‘नमस्ते पे'सेवा सुरु गरेको जनाकारी दिएको हो। सो सेवा सुरु भएसँगै 'नमस्ते पे'को मोबाइल एप, वेबसाइट र युएसएसडी कोडमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्।

युएसएसडी कोडको सुविधाका कारण प्रयोगकर्ताले इन्टरनेट नभएको अवस्थामा समेत डिजिटल भुक्तानी गर्न सकिने कम्पनीका कार्यकारी निर्देशक कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवा उपलब्ध हुनेछ।मोबाइल वालेटमा पैसा लोड गर्नका लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकसहित ९ वटा बैंकको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ।

अन्य बैंकबाट पैसा लोड गर्न क्रमशः व्यवस्था गर्दै लगिने कम्पनीले जनाएको छ। बैंकसँग देशव्यापी एजेण्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशिघ्र शुरु गर्न एजेण्ट नेटवर्क तयार गर्ने काम भइरहेको जनाएको छ।

कम्पनीले सुरुवाती चरणमा एण्ड्रोइड मोबाइल सेटमा मात्र सो सेवा सुचारु गर्न सकिने जनाएको छ।

स्मार्ट फोनको अलाबा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी युएसएसडि प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत मोबाइल वित्तीय सेवाको सञ्चालन गर्न सकिनेछ।

 

प्रकाशित मिति: : 2021-09-15 10:01:00

प्रतिकृया दिनुहोस्