गेमिङ डिसअर्डरः डरलाग्दाे 'लत'ले परिवारभित्र नै दुरी बढ्दै

REPRESENTATION PHOTO

केही वर्षअघिसम्म मानिस शारीरिक व्यायाम तथा खेलकुदमा आफ्नो समय सदुपयोग गर्थे। शारीरिक तथा मानसिक दुवै तवरमा स्वस्थ र तन्दुरुस्त हुन यी विधि नै उपयुक्त थियो।

भलिबल, फुटबल, ब्याडमिन्टन, टेबुलटेनिसलगायत अन्य खेलकुदका गतिविधि बालबालिकादेखि सबै उमेर समूहका व्यक्तिहरु यसैमा व्यस्त हुन्थे।त्यसैले उनीहरु शारीरिक र मानसिक दुवै अर्थबाट तन्दुरुस्त पनि हुन्थे।

तर, पछिल्लो समय इन्टरनेटमा सहज पहुँच हुन थालेपछि र पछिल्लो समय कोरोना महामारीका कारण भौतिक उपस्थितिबिना अनलाइनमार्फत पठनपाठन हुन थालेसँगै बालबालिका र अभिभावक मोबाइल, कम्युटर ल्यापटपमा समय खर्चिन थालेका छन्।

अचेल बालबालिकालगायत प्राय सबै उमेरका मानिसहरु शारीरिक व्यायाम, घुमघाम र खेलकुदलाई बिर्सिएर अनलाईन गेममा समय बिताइरहेका छन्। आधुनिक गेम र इन्टरनेटका सामाग्रीले बालबालिकाहरुलाई शरीरिक र मानसिक दुवै रुपमा कमजोर बनाउने मनोविज्ञहरु बताउँछन्।

हरेक दिन नयाँ-नयाँ कम्पनीहरुबाट नयाँ-नयाँ अनलाइन गेमहरुको विकास र विभिन्न स्किमहरु आइरहेका हुन्छन्। महामारीको समयलाई पक्रदै यस्ता कम्पनीहरुले अनलाइन गेमहरुलाई अझ प्रभावकारी बनाउन नयाँ-नयाँ उपहार र योजनासमेत ल्याइरहेका हुन्छन्। त्यसैले फुर्सद मिल्यो कि लुकिछिपी अभिभावकको आँखा छलेर बालबालिका अनलाइन गेममा समय खर्चिरहेका पाउछौं।

अहिले धेरैजसो बालबच्चा 'गेमिङ डिसअर्डर'को शिकार हुँदै गएको मनोविज्ञहरुले बताएका छन्। जति यस्तो गेममा बच्चाहरु लिप्त हुँदै जान्छन्, उनीहरु त्यहाँबाट बाहिर आउनै चाहदैनन्। यही कारण 'गेमिङ डिसअर्डर'लाई अहिले विश्व स्वास्थ्य संगठनले मानसिक रोगको श्रेणीमा राखेको छ।

जब बच्चाहरुमा यस्तो समस्या आउन थाल्छ, उनीहरु निदाउन छाड्छन्। शारीरिक गतिविधिमा सक्रिय हुँदैनन्। खानपान अनियमित हुन थाल्छ। उनीहरु पारिवारिक र सामाजिक जीवनबाट भाग्न खोज्छन्।

यसले बच्चाहरुलाई हिंस्रक, आक्रमक बनाउँछ। बच्चाहरु एकान्तमा मात्र बस्न रुचाउने, सधै उदास रहने हुन्छ। त्यसैले यी समस्याप्रति अभिभावकले नजरअन्दाज गर्न मिल्दैन।

'पब्जी', 'फ्री-फाएर'जस्ता अनलाइन गेममा विषेशगरी बालबालिका २४ घण्टा झुम्मिने गरेको गुनासो अभिभावकबाट सुन्न सकिन्छ। जसले गर्दा उनीहरुमा मानसिक असर पारिरहेको छ। त्यसपछि उनीहरु मानसिक रोगको शिकार हुन् पुग्छन्। घण्टौसम्म अनलाइन गेमिङमा व्यस्त भएपछि त्यस्ता व्यक्तिमा ‘गेमिङ डिसअर्डर’ हुन्छ।

के हो ‘गेमिङ डिसअर्डर’ ?

‘गेमिङ डिसअर्डर’ एकप्रकारको लत हो। कुनै पनि चिजको लत लागिसकेपछि त्यसबाट छुट्कारा पाउन एकदमै गाह्रो हुन्छ। चाहे त्यो गेमिङ लत होस् अथवा अरु कुनै लागुपदार्थ जस्तै चुरोट, जाँड, रक्सी, गाँजा, भाङ।

चिकित्सक भन्छन्- 'लत अति भयो भने त्यसले मान्छेलाई बर्बाद गरिदिन सक्छ। यीबाहेक अरु पनि यस्ता लत हुन्छन् जसको बारेमा कमै मानिसहरुलाई थाहा छ। यी लत पनि मदिरा तथा धुम्रपानभन्दा कम हुदैनन्। जस्तै कोही मानिसहरुलाई अरुको सामान चोर्ने लत हुन सक्छ। यस्तै लत हो यो अनलाइन गेम पनि।'

५/६ वर्षका बालबालिकादेखि युवाहरु मात्र होइन, ४० वर्ष कटिसकेका मानिसहरुलाई पनि गेमिङको लतले सताएको पाइन्छ। अहिलेको समयमा कतिपय बालबालिका र युवा वर्ग इन्टरनेट गेमिङ डिसअर्डरको शिकार भएर अस्पतालसम्म पुगेको समचार समेत पढ्न र सुन्न थालिएको छ।

यो एक प्रकारको मानसिक रोग हो। खेल्न छाड्दा छट्पटि हुने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, झर्केर बोल्ने, समयमा खाना नखाने, पढाइमा ध्यान नदिनेजस्ता गेमिङ लतको समस्याहरु हुन्। कतिपयमा धैर्य गर्न नसक्नेजस्ता समस्याहरु पनि आउने गरेका छन्।

पब्जीजस्ता गेममा धेरै जस्तो विषयवस्तु हिंसात्मक हुने गर्दछन्। लामो समयसम्म गेममा बिताउँदा दिमागमा गहिरो छाप पर्ने भएकाले बालबालिकाको बाहिर पनि यस्तै क्रियाकलाप देखाउने जोखिम रहनेै डर धेरै हुन्छ।

गेममा भुल्ने मानिसहरु आफ्नो वरिपरिका मानिसहरसँग धेरै बोल्दैनन् र उनीहरु एक्लै बसेर घण्टौँसम्म खेल्न थाल्छन्। यसले उनीहरुलाई अरुसँग घुलमिल हुने मौका दिँदैन र असामाजिक बनाउँछ।

विभिन्न अध्ययनअनुसार महिलाहरुको तुलनामा पुरुषहरुमा गेमिङको लत धेरै हुन्छ। तर पछिल्लो समय महिलाहरु पनि गेमिङमा उत्तिकै सक्रिय भएको पाइएको छ। विशेषगरी बालबालिका र १७ वर्षमुनिका बच्चाहरले रात दिन अनलाइन गेम खेल्ने गरेको पाइन्छ। यो प्रकारको भिडियो गेमको लतले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ।

कस्तो हुन्छ 'अनलाइन गेम'को लत ?

जब मोवाइल हातमा पर्छ, तब बच्चाहरु गेम खेल्न थाल्छन्। भिडियो हेर्न थाल्छन्। टिकटक बनाउन थाल्छन्। यसरी मोवाइलमा झुम्मिएपछि उनीहरु आफैलाई भुल्छन्।

एकै ठाउँ घण्टौ-घण्टौ बसेको पनि उनीहरुले पत्तो पाउँदैनन्। भोक लागेको पनि भेउ पाउँदैनन्। तिर्खा लागेको पनि अन्दाज पाउँदैनन्। दिसा-पिसाब लागेको अनुभूत नै गर्दैनन्।

आफ्नो अघिल्तिर को आयो, को गयो, के भइरहेको छ, केही पनि थाहा पाउँदैनन्। किनभने उनीहरुको आँखा मोवाइलको स्क्रिनभित्र हुन्छ। उनीहरुको ध्यान मोवाइलको गेम वा भिडियोमा हुन्छ। दायाँबायाँ केही सोच्न, देख्न र बुझ्नै सक्दैनन्।

मोवाइलमा गेम जति खेल्यो, उति खेल्न मन लाग्छ। भिडियो जति हेर्‍यो, उति हेर्न मन लाग्छ। यही कारण मोवाइल मोह पलाउँछ। यसले मोवाइलप्रतिको आशक्ति बढाउँछ। मोवाइलको लत लगाउँछ। मोवाइलको तृष्णा जगाइदिन्छ।

'गेमिङ लत'बाट कसरी जोगाउने?

निश्चित समय तोकेर मात्र उनीहरुलाई मोबाइल, ल्यापटप चलाउन दिने। साथै अन्य समयमा बालबालिकाहरुलाई एक्लो हुन नदिने गरौँ।

उनीहरुसँग कुनै न कुनै रुपमा सहभागी हुने गरौँ। मनोविद्को सुझाव छ- 'घरायसी कामकाज सिकाउने र उनीहरलाई त्यसमा नै व्यस्त राख्ने कोसिस गरौँ। खानेकुरा बनाउने, बगैंचामा खेल्ने, फूलहरु गोड्न लाउने, बोटबिरुवा रोप्ने तथा गोडमेल गर्ने, आफ्नो खेतबारी जग्गा जमिन देखाउने तथा घुमाउने, चित्रहरु बनाउन लगाउने, मनोरञ्जनका उपायहरु नाच्न गाउन लगाउने आदि।'

प्रकाशित मिति: : 2021-09-15 09:27:00

प्रतिकृया दिनुहोस्