मरे भनी ठानिएका अल कायदाका प्रमुख अयमान अल-जवाहरी नयाँ भिडियोमा देखापरेपछि…

Picture: Alamy
Picture: Alamy

अमेरिकाले मरिसकेको घोषणा गरेका अल कायदाका प्रमुख अयमान अल-जवाहरी सेप्टेम्बर ११ को आतंकवादी हमलाको २० औं वर्षगाँठको अवसर सार्वजनिक एउटा नयाँ भिडियोमा देखापरेका छन्।

जिहादी समर्थक वेबसाइटहरुको अनुगमन गर्ने गुप्तचर समूहको साइटले उक्त भिडियो गत शनिबार सार्वजनिक भएको जनाएको छ।

भिडियोमा अल-जवाहरीले अल कायदाले जनवरीमा सिरियामा रहेका रूसी सेनालाई लक्षित गरिएको बम–हमलाको प्रशंसा गरेको देखिएको छ । उनले भनेका छन्, 'जेरुसेलममाथिको दाबी हामीले छाड्यौँ भने त्यो न्यायपूर्ण हुने छैन ।'

अफगानिस्तानमा करिब २० वर्षदेखिको उपस्थिति त्याग्दै अमेरिकी सेना त्यहाँबाट फर्किएको कुरालाई अल-जवाहरीले सकारात्मक रुपमा लिएको गुप्तचर साइटले बताएको छ।

उक्त वेबसाइटले जवाहरीको टिप्पणीलाई केलाउँदै भने– भिडियो भर्खरको हो भन्ने लाग्दैन किनकि अमेरिकाले तालिबानसँग आफ्नो सेना फिर्ता लिने सम्झौतामा फेब्रुअरी २०२० मा हस्ताक्षर गरेको थियो।

जवाहरीले भिडियोमा अफगानिस्तान र त्यहाँको राजधानी काबुलमा गत महिना तालिबानले गरेको कब्जाबारे कुनै उल्लेख गरेनन् तर उनले २०२१ को जनवरी १ मा उत्तरी सिरियाको रक्का शहरको किनारमा भएको आक्रमण भने उल्लेख गरेका छन् जसमा रुसी सेनालाई लक्षित गरिएको थियो।

अल-जवाहरीको बिरामी परेर मृत्यु भएको कुरा २०२० को अन्त्यतिर सार्वजनिक भएको थियो। त्यसयता गत शनिवारसम्म कुनै भिडियो वा जवाहरी जीवित रहेको प्रमाण बाहिरिएको थिएन।

साइटकी सम्पादक रीता काट्जले ट्वीट गरेकी छिन्, 'उनको मृत्यु भएको हुनसक्छ । त्यो साँचो हो भने उनको मृत्यु २०२१ को जनवरीमा वा त्यसपछिको कुनै मितिमा भएको हुन सक्छ।'

अल कायदाको अस-साहब मिडिया फाउन्डेसनले उत्पादन गरेको अल-जवाहरीको भाषण ६१ मिनेट ३७ सेकेन्ड लामो छ।

हालैका वर्षहरुमा अल कायदालाई जिहादी वृत्तमा आफ्नो प्रतिद्वन्द्वी इस्लामिक स्टेट समूहबाट प्रतिस्पर्धाको सामना गर्नुपरेको छ।

आईएसले २०१४ मा इराक र सिरियाको ठूलो हिस्सा कब्जा गर्दै 'खलिफा' घोषणा गरी धेरै देशहरुमा सम्बन्ध विस्तार गरी आफूलाई मुख्य स्थानमा पुर्याएको हो।

इराक र सिरियामा आईएसको भौतिक दादागिरी टिकेन तर आईएसका लडाकुहरु अझै त्यहाँ सक्रिय छन् । लडाकु संगठित गरिरहेका छन्।

अमेरिकी सेनाले २०१९ को अक्टोबरमा उत्तर–पश्चिमी सिरियामा एक हमलामा आईएसका प्रमुख अबू बकर अल-बग्दादी मारिएका थिए।

२०११ को अमेरिकी नौसेना सीलद्वारा पाकिस्तानको एबट्टाबादमा ओसामा बिन लादेनको हत्यापछि इजिप्सियन मूलका अल-जवाहरीलाई अल कायदाले प्रमुख नेता बनाएको थियो।

प्रकाशित मिति: : 2021-09-13 16:27:00

प्रतिकृया दिनुहोस्