पाकिस्तानमा चट्याङका कारण १४ जनाको मृत्यु, तीन घाइते

बिएल संवाददाता

पाकिस्तान 
File photo
File photo

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका अधिकारीहरुले आइतबार बताएका छन्। 

खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा भएको यो घटनाभन्दा पहिले उक्त क्षेत्रमा परेको मुसलधारे मनसुनी वर्षाका कारण ठाउठाउमा पहिरो जाँदा बुधबारदेखि धेरै क्षति पुर्याएको स्थानीय अधिकारीले बताएका छन्। 

प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले भने, 'चट्याङका कारण सँगै रहेका दाजुभाईका दुईवटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको थियो।' मृतकहरूमा पाँच जना केटाकेटी र चार जना महिला रहेका उनले पुष्टि गरे।

सामान्यतया जूनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुन भारतीय उपमहाद्वीपभरि बाली सिंचाई गर्न र पानीको आपूर्ति पुरा गर्न अत्यावश्यक छ, तर प्रत्येक वर्ष बर्षासँगै आउने बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण भारत, पाकिस्तान लगायतका एशियाली मुलुकमा ठूलो मानवीय तथा भौतिक क्षति हुने गरेको छ। 

सन् २०१९ को नोभेम्बरमा भएको यस्तै घटनामा पाकिस्तानको थार मरुभूमिमा चट्याङका कारण करिब १८ जनाको मृत्यु भएको थियो। 

प्रकाशित मिति: : 2021-09-12 19:47:00

प्रतिकृया दिनुहोस्