यति छ गण्डकी प्रदेशका खेलकुद मन्त्री दिपक मनाङेकाे सम्पति (भिडियाे)

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले आफूसँग के कति सम्पत्ति छ भन्ने थाहा नभएको अभिव्यक्ति दिएका छन्।

पदभार सम्हालेको दुई महिनाभित्रमा सम्पति विवरण सार्वजनिक गर्नुपर्नेमा उनले अझैंसम्म सम्पति विवरण सार्वजनिक गरेका छैनन्।

आइतबार आफ्नो ६० दिने कार्यप्रगति सार्वजनिक गर्न बाेलाइएकाे पत्रकार सम्मेलनमा उनले आफूसँग के कति सम्पति छ भन्नेबारेमै 'कन्फ्युज' भएको बताएका छन्।

‘जम्मै पहिलाको श्रीमती र छोराको नाममा राखेकाे छु। मैले मेरो भनौं प्रब्लमको कुरा छ। मलाई एक आना जग्गा पनि दिने छैनन्,’ उनले भने, ‘विजनेश गर्दा केटाहरुलाई इन्भेष्ट गर्दिन्थें, धेरै यस्तो पैसा छ जुन पैसा आको छैन के।’ नआएको सम्पतिबारे खुलाउन गाह्रो हुने उनले बताए।

‘रामेले ३० लाख लगेछ, श्यामेले दुई लाख लगेछ भनेर कसरी लेख्ने त्यहाँ ? त्यस्तो प्रब्लम छ त्यहाँ। मेरो नाममा केही पनि छैन,’ उनले अघि सुनाए।

भ्रष्टाचार निवारण सम्बन्धी ऐन २०५९ ले सार्वजनिक पद धारण गरेका व्यक्तिले पदभार सम्हालेको ६० दिनभित्रमा आफ्नो वा परिवारको सम्पति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। तर, उनले पदभार सम्हालेको ६० दिन बितिसक्दा पनि सम्पति विवरण बुझाएका छैनन्।

मनाङेसँगै मन्त्रिपरिषद् विस्तार हुँदा ८ साउनमा मन्त्री बनेका भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले पनि सम्पति विवरण बुझाएका छैनन्। तर उनको पदभार सम्हालेको ६० दिन पुग्न अझैं १० दिन बाँकी छ।

गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् आचारसंहितामा पनि मन्त्रीहरुले ६० दिन भित्रमा सम्पति विवरण बुझाउनुपर्ने भन्ने व्यवस्था छ।

प्रकाशित मिति: : 2021-09-12 18:36:00

प्रतिकृया दिनुहोस्