नयाँ बानेश्वरको ‘आइप्लेक्स मल’कोे बायाँपट्टिको सानो सडक। पञ्चकुमारी मार्ग हुँदै करिब दुई सय मिटरअगाडि गएपछि जोडिन्छ– अर्को गल्लीमा। भित्तामा लेखिएको परैबाट देखिन्छ– ‘किङ फुल्की क्याफे’।
उक्त क्याफेका सञ्चालक एक जना किशोर छन्। उनी हुन्– रामेछापको दोरम्बा स्थायी घर भएका १७ वर्षीय राजु घिसिङ। उनले दुई वर्षदेखि आफ्नो व्यवसाय सञ्चालन गर्दैआएका छन्।
राजु पाँच वर्षअघि रामेछापबाट भागेर काठमाडौं आएका थिए। उज्ज्वल भविष्य बनाउने तथा राम्रो काम गर्ने सपना लिएर काठमाडौं भित्रिएका थिए उनी।
राजुु परिवारको चौंथो सन्तान हुन्। उनका दुुई दाजु ,एक दिदी र एक जना भाइ छन्। पितामातासहित परिवारसँग राजु खुशी थिए। घरमा उनलाई पढ्न जानु पथ्र्यो तर उनलाई पढ्न मन थिएन। त्यसैले घरबाट भागेर काठमाडाैँ आए।
राजु २०७३ सालमा रामेछापबाट काठमाडौं आएका थिए। काठमाडौं आएपछि पेट पाल्न पनि काम गर्नै पर्याे। सुरुमा गाउँकै दाइले काम दिलाए। उनले होटेलमा भाँडा माझ्न थाले। भाँडा माझ्ने काममा उनी १२ दिनभन्दा बढी टिकेनन्। उनलाई भाँडा माझेर बस्न सक्छु जस्तो लागेन। छाडी दिए।राजुले भाँडा माँझने काम छाडेपछि विभिन्न स्कुुलका क्यान्टिनमा काम गरे। कतै चार महिना कतै सात महिना काम गरे।
यसैबीचमा राजुुले परराष्ट्र मन्त्रालयको क्यान्टिनमा पनि तीन महिना भान्सेको सहयोगी भएर काम गरे। काम गर्दै जाँदा राजुलाई सधैँभरि अरुको काम गरेर बस्न सकिन्न जस्तो लाग्यो। व्यवसाय सञ्चालन गर्न थाले।
राजुले चार वर्ष काम गर्दाको पारिश्रमिक जोगाएर राखेका थिए। उनीसँग आमाले दिएको एउटा सुनको औँठी थियो। जोगाएको पैसाले नपुगेपछि उनले उक्त औँठी पनि बेचे।
राजुुले सुरुमा व्यवसाय गर्दा १ लाख ४० हजारबाट सुुरुवात गरेका थिए। अहिले उनको क्याफे राम्रै चल्न थालेको छ। अब क्याफेमा पाँच लाखभन्दा बढीका सामानहरु रहेको उनले बताए।
राजुुले आफ्नो परिवारको नाममा व्यावसाय सञ्चालन गरेका छन्। उनी आफैँ पकाउँछन्। आफैँ भाँडा माझ्छन्। आफैँ पैसा उठाउँछन्। उनलाई कहिले एक जना दिदीले पनि सघाउँछिन्, कहिले भाइले।
तीन वर्षदेखि उनले आफैँ व्यवसाय सञ्चालन गर्न थालेका हुन्– किङ फुुल्की। उनले आफ्नो परिवारको नामबाट उक्त नाम जुराएको बताए।
‘गाउँमा पढ्न पनि मन लागेन। काठमाडाैँमा राम्रो काम गर्छुजस्तो लाग्यो र घरबाट भागेर काठमाडौं आएँ’, उनले बिएल नेपाली सेवालाई आफ्नो कथा सुनाए, ‘पहिला अर्काका काम गर्थें। अहिलो आफ्नै क्याफे छ, खुशी छु। अब यसलाई बढाएर अलि ठूलो बनाउने सोच छ।’
राजु निकै मेहेनति छन्। उनको दैनिकी बिहान चार बजेबाट सुरुवात हुन्छ र रातमा ८ बजेपछि विश्राम हुन्छ।
व्यवसाय सञ्चालन गर्ने क्रमका राजुले विभिन्न समस्याहरुसँग लडेका छन्। भर्खर रेष्टुरेण्ट खोल्दा निकै समस्या थियो उनलाई। एकातिर व्यापार हुँदैनथ्यो, अर्र्काेतिर क्याफेको घरभाडा र डेराभाडा पनि त तिर्नु थियो।
‘पहिला तीन महिना त व्यापार नै भएन, आफ्नो व्यक्तिगत खर्च निकालेर भाडा तिरेँ, कहिले त व्यापार नै छाडीदिऊँ जस्तो भयो’, उनले भने।
उनले एक दिन दिनभरि सोचे– आफ्नै रेष्टुरेण्ट बनाउन निकै मेहेनत गरेको थिएँ तर चलेन। त्यसपछि अरु बढी मेहेनत गरे। राजुमा निकै आत्मविश्वास छ। उनको सपना छ– व्यवसाय ठूलो बनाउने। उनी एक दिन ठूलो होटल व्यवसायी बन्नेमा आशावादी छन्।