देउवाको गृहनगरका वडाध्यक्षले भने– ‘यो विजोग डामाडोल भो, यसरी कांग्रेस रहँदैन’ (अन्तर्वार्ता)

नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो– डडेल्धुरा। कांग्रेसको शुक्रबार भएको उक्त जिल्लाको वडा अधिवेशनमा सदरमुकाम अमरगढी नगरपालिकाकै पाँच वटा वडामा बहिष्कार भएका छन्– वडा नम्बर १, २, ५, ८ र १० मा।

नगरपालिकाको सबैभन्दा ठूलो वडा हो– वडा नम्बर ८। उक्त वडाको वडाध्यक्ष समेत रहेका स्थानीय युवानेता हुन्– नरबहादुर साँकी। उनी यसअघिको महाधिवेशनबाट निर्वाचित कांग्रेसको वडा सभापति पनि हुन्। महाधिवेशन बहिष्कार गर्नेमध्येका एक नेता हुन् उनी।

यसपटकको महाधिवेशनमा नगरसभापतिका दाबेदार समेत रहेका नरबहादुर साँकीसँग अमरगढीको अवस्थाबारे बिएल नेपाली सेवाले गरेको संवाद :

सभापति देउवाको गृहनगर अमरगढी नगरपालिकाको सबैभन्दा ठूलो वडाका जननिर्वाचित अध्यक्ष तपाईं। त्यहाँको वडा अधिवेशनबारे बताइदिनुस् न।

म अमरगढी– ८ को वडाध्यक्ष र यसअघिको महाधिवेशनबाट निर्वाचित वडासभापति पनि थिएँ। म यसपटक नगर–सभापतिको दाबेदार पनि थिएँ। 
मैले शुक्रबारको वडा अधिवेशन बहिष्कार गरेको छु। अमरगढीभित्र पाँच वटा वडामा वडा–अधिवेशन बहिष्कार भए– १, २, ५, ८ र १० नम्बर वडा। मेरो वडा नं. ८ मा ३० जना क्रियाशील सदस्य थिए। अधिवेशनका बेला मेरावरिपरि ३० जना सुरक्षाकर्मी थिए– अधिवेशन स्थलमा। दुर्भाग्य ! कांग्रेसले सुरक्षाकर्मी लगाएर महाधिवेशन गर्नुपर्ने अवस्था आएछ। सौहाद्र्रपूर्ण अवस्थामा महाधिवेशन गराउने प्रक्रिया यस्तो छ।

तपाईंले बहिष्कार गर्नुपर्ने कारण चाहिँ के पर्‍याे ?

नगर सभापतिको दाबी गर्दैगर्दा मेरो सङ्कल्प यत्ति थियो– आगामी स्थानीय चुनावमा कांग्रेसलाई जिताउने। अहिले जटिल परिस्थितिमा गएको छ।

मलाई थाहा छ– गुटफूट भएको कांग्रेसको जिल्ला सभापति भए पनि अर्थ छैन। मलाई सङ्गठित ठूलो कांग्रेसको क्रियाशील सदस्यमात्र भए पनि पुग्छ। म अहिले अध्यक्ष भए पनि नगरसभापति दाबी गरिरहँदा मैले भनेको थिएँ– महाधिवेशनपछि वडा सदस्यको समेत उम्मेद्वार नरही पाँच वर्षसम्म कुनै पनि पद नलिई आउने चुनावमा अमरगढीमा कांग्रेसलाई जिताउने मात्र रहर थियो। विवादका कारण त्यो पूरा गर्न सकिनँ। यो कांग्रेसका लागि दुर्भाग्य हो। 

प्रधानमन्त्री देउवाले आफ्नै गृहजिल्लामा प्रहरी लगाएर महाधिवेशनमा धाँधली गर्नुभयो भन्ने आरोप हो ?

त्यो त देखियो नि ! मैले भन्नै पर्दैन। महाधिवेशन त बल प्रयोग गरेर गरौँला, भोलि स्थानीय, प्रदेश र संघीय चुनाव आउँछ त्यो कसरी सामना गर्ने भन्ने मूल प्रश्न हो।

वडामै त यो अवस्था आयो भने सभापतिमा स्वयम् देउवाका प्रत्यक्ष प्रतिस्पर्धीको अवस्था के होला त ?

म हजुरलाई नढाँटी छातीमा हात राखेर भन्न चाहन्छु– कुरौटेहरुले कुरा लगाएर मात्र नेता बन्ने परिपाटीको परिणाम हो यो। अब कुरा गरेर नेता बन्न सकिँदैन, काम गरेर नेता बन्ने हो। व्यावहारिक रुपमा म जनतासँग घुलमिल छु कि छैन ? त्यो हो।

कुरा लगाएर नै नेता बन्ने हो भने त बेकार किन यो गर्नुप¥यो ? हामी २४सै घण्टा खटेका छौँ। घरपरिवार छोराछोरी भनेका छैनौँ। निजी व्यवहार भनेका छैनौँ। नरबहादुर साँकी खराब हो भनेर कुरा लगाएको भरमा नेता बन्ने जो परिपाटी छ, त्यो कांग्रेसमा कहिले होला भन्ने मात्र मेरो चिन्ता हो।

मेरो प्रश्न चाहिँ के केन्द्रमा देउवाजीसँग सभापति लड्ने नेता उहाँका सामु टिक्लान् त, तपाईंलाई के लाग्छ ?

शेरबहादुर दाइमा त देखिइहाल्यो। वडामा ३० जना महाधिवेशन गर्नेबेलामा माथिबाट हस्तक्षेप गर्छन् भने केन्द्रको हालत के होला ? 

उहाँका प्रतिस्पर्धीका लागि मात्र होइन, कांग्रेसकै लागि बिजोगको कुरा हो। भोलि कांग्रेस रहने कि नरहने भन्ने चिन्ता छ।

लोकतान्त्रिक परिपाटीकै चिन्ता छ तपाईंलाई ?

शेरबहादुर दाइलाई सात चोटी प्रधानमन्त्री हुनुहुन्छ भन्ने ज्योतिषीले नै यो वर्ष नेपालमा बडा खतरनाक अवस्था आउन सक्छ, व्यवस्था नै फेरिन सक्छ भनेर ज्योतिष शास्त्रबाट व्याख्या गरेका छन्। नेपालमा शायद् डेमेक्रेसी रहन्न कि भन्ने मलाई चिन्ता छ।

के त्यहाँको अवस्थाबारे देउवाजी स्वयम्लाई जानकारी थियो ?

यहाँको विवाद र झडपपछि मैैले भानु देउवा (भतिजा एवम् स्वकीय सचिव)लाई फोन गरेर भनेँ, ‘मेरो प्यारो भाइ, जसरी हुन्छ डडेल्धुरा बचाउनुपर्‍याे। तपाईंको खुट्टा छुन्छु यार ! मलाई कांग्रेसको चिन्ता छ।’ मैले यति अनुरोध गर्दा पनि उहाँले मान्नु भएन। यो विजोग भो। डामाडोल भो। यसरी कांग्रेस रहँदैन।

पहिला बीपी कोइराला नेता हुनुहुन्थ्यो। उहाँ जानुभए पनि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो। उहाँहरु गएपछि पनि कांग्रेस रहिरह्यो। सुशील दा गए पनि कांग्रेस गएको थिएन। अब चाहिँ कांग्रेस रहने कि नरहने भन्ने चिन्ता भयो।
म वडा सभापति हुँदा कांग्रसले जितेको हेर्ने सपना थियो, त्यो सपना मात्र रह्यो। 

म १० वर्ष कोरियामा काम गरेर बस्दा पनि कांग्रेसकै समितिमा बसेँ। यहाँ पनि दिनरात काम गरिरहेको छु। खोई हाम्रो मूल्यांकन ? पैसा र पावरले मात्र कांग्रेस हुने भए यो देशबाट कांग्रेस विलय हुन्छ। 

हाम्रा थुप्रै साथीको सपना थियो– एमाले फुट्यो, अब हाम्रो राज  आउँछ। मेरो सोच त्यो होइन। अरु फुटोस् कि जुटोस्, कांग्रेस बलियो बनाएर राजनीति गर्ने हो। अरु फुटेकाले हामी शक्तिमा जाउँला भन्नु संकुचित र चिन्ताजनक सोच हो। कांग्रेस बलियो भए पो वडाध्यक्षदेखि मेयर, सांसद्, मुख्यमन्त्री, मन्त्री र प्रधानमन्त्री बन्न सकिएला। अरु फुटेर राज गर्ने भन्ने जो सोच छ, त्यो घातक छ। 

प्रकाशित मिति: : 2021-09-11 17:38:00

प्रतिकृया दिनुहोस्