मोरक्कोमा नयाँ प्रधानमन्त्री नियुक्त

File photo
File photo

मोरक्कोमा शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ। ​मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका हुन्। नेस्नल र्याली अफ इन्डेपेन्डेन्ट (आरएनआई) का अध्यक्षसमेत रहेका अखान्नौचलाई मन्त्रिपरिषद् गठन गर्ने जिम्मेवारीसमेत राजाले दिएका छन्।

यही सेप्टेम्बर ८ मा भएको निर्वाचनको नतिजाका आधारमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राजदरवारबाट प्रकाशित वक्तव्यमा उल्लेख गरिएको छ।

निर्वाचनमा उनको पार्टीले जित हासिल गरेको छ। प्रधानमन्त्रीमा नियुक्त भएका अजिज अहिले ६१ बर्षको भएका छन्। उनले सन् २००७ देखि २०१७ सम्म कृषि मन्त्रीका रुपमा सेवा गरेका थिए।

उनको आगमनसँगै जस्टीस एण्ड डेभ्लभमेन्ट पार्टीको सरकार अन्त्य भएको छ। सो पार्टीले गत सन् २०११ देखि गठवन्धन सरकार चलाउदै आएको थियो। मरक्कोमा गत बुधबार तल्लो सदनका सदस्य र स्थानीय तहका प्रतिनिधि चयनका लागि मतदान भएको थियो।

निर्वाचनका लागि देशभरी झन्डै एक करोड ७५ लाख आधिकारीक मतदाता रहेका थिए। कोरोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै मतदान केन्द्र तोकिएको र मतदान केन्द्रमा भीडभाड नहुने व्यवस्था गरिएको थियो।

तल्लो सदनका लागि देशभरीबाट ३९५ जना छानिने गरी निर्वाचन भएको थियो। त्यसैगरी स्थानीय प्रतिनिधिका रूपमा झन्डै ३१ हजार चुनिने गरी निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनका लागि मोरक्कोका मात्रै झण्डै चार हजार ५०० र विदेशी झण्डै १०० निकायका पर्यवेक्षक खटिएका थिए। निर्वाचन आयोगले प्रान्तीय परिषद्को निर्वाचन भने यही सेप्टेम्बर २१ र माथिल्लो सदनको निर्वाचन अक्टोबर ५ मा गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: : 2021-09-11 15:02:00

प्रतिकृया दिनुहोस्