आत्महत्याका समाचारलाई प्राथमिकता दिएर विस्तृत र सनसनीपूर्ण रूपमा प्रस्तुत गर्दा नकारात्मक प्रभाव मात्रै पार्दैन, आत्महत्या गर्न दुरुत्साहन पनि मिल्छ।
संसारकै लागि चिन्ताको विषय बनेको छ, आत्महत्या। हरेक ४० सेकेन्डमा एक जना र प्रत्येक वर्ष आठ लाख मानिसले आत्महत्या गर्दै आएको तथ्यांक छ। नेपाल पनि यो समस्याबाट टाढा छैन।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका अनुसार, केही वर्ष यता आत्महत्याको दर बढ्दै आएको छ। पाँच वर्षअघि २०७२/७३ मा पाँच हजार १२४ जनाले आत्महत्या गरेका थिए भने २०७७/७८ मा पुग्दा यो संख्या सात हजार ११७ पुगेको छ। जनसंख्या वृद्धिका अनुपातमा आत्महत्या बढ्दै जानु चिन्ता र चासोको विषय बनेको छ।
एक व्यक्तिले आत्महत्या गर्दा त्यसको प्रत्यक्ष प्रभाव कम्तीमा ६ जनामा पर्ने विभिन्न अध्ययनले देखाएका छन्। कुनै व्यक्तिले अकाल मृत्युवरण गर्दा समाजमा पनि नकारात्मक तरंग पैदा गर्छ। यो नकारात्मक तरंग फैलाउन सञ्चार माध्यमको पनि भूमिका देखिन्छ।
धेरैजसो आत्महत्याका पछाडि मानसिक स्वास्थ्यको भूमिका रहेको हुन्छ। डिप्रेसन, एन्जाइटी, मेनिया, बाइपोलार डिसअर्डर, स्किजोफेनिया लगायतका मानसिक असन्तुलन तथा लागूऔषध एवं नशालु पदार्थको सेवनका कारण धेरै मानिसले आत्महत्या गरेको पाइएको छ।
आत्महत्याका कारण
आत्महत्याको एउटै मात्र कारण हुँदैन। धेरैजसो आत्महत्याका पछाडि मानसिक स्वास्थ्यको भूमिका रहेको हुन्छ। डिप्रेसन, एन्जाइटी, मेनिया, बाइपोलार डिसअर्डर, स्किजोफेनिया लगायतका मानसिक असन्तुलन तथा लागूऔषध एवं नशालु पदार्थको सेवनका कारण धेरै मानिसले आत्महत्या गरेको पाइएको छ। यो मस्तिष्कसँग सम्बन्धित निर्णय, व्यवहारमाथिको नियन्त्रण र सकारात्मक चिन्तनको अभावका कारणले सिर्जना हुने घटना हो।