०७३ सालअघि काभ्रेकी सुदिना लामा शिक्षिका थिइन्। काभ्रेकाे महाभारत गाउँपालिकाकाे कालिका माध्यमिक विद्यालयमा पढाउँथिन्। दिउँसाे विद्यालय जाने बिहान र बेलुका घरकाे काम गर्ने। यसरी उनकाे दैनिकी बित्थ्याे। विद्यालयकाे जागिर खाएर आफ्नाेखुट्टामा उभिन सक्षम भएपछि उनले गाउँकै शिक्षकसँग बिहे गरिन्।
बिहेपछि उनकाे घर र थर मात्रै फेरिएन पेशा पनि फेरियाे। उनी शिक्षिकाबाट तरकारी व्यापारी बनिन्। अहिले काठमाडाैँकाे तीनकुनेस्थित तरकारी बजारमा उनकाे पसल छ। शिक्षण पेशा गर्दै आएकी उनले जब बिहे गरिन्, उनकाे दैनिकी फेरियाे।
सुदिनाका श्रीमान लिलामान लामाले केही वर्षदेखि तरकारीकाे व्यवसाय गर्दै आएका थिए। बिहेपछि उनले पनि शिक्षण पेशा त्यागेर व्यापारमा लागिन्। उनी नेपाली विषयकी शिक्षिका भएपनि सानैदेखि व्यवसायमा लाग्न चाहान्थिन्। जुन उनकाे इच्छा बिहेपछि पूरा भयाे। उनी विगत तीन वर्षदेखि व्यवसायमै छिन्। बिहानै उठेर तरकारी लिन जानु र दिनभरि व्यपार गर्नु अहिले उनेकाे दैनिकी बनेकाे छ।
विं.स.२०५४ सालमा काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सुदिनाको जन्म भएको थियो। उनको बाल्यकाल काभ्रेमा नै बित्यो। उनले सोही गाउँपालिकाबाट माध्यमिक तहसम्मको अध्ययन पूरा गरिन्। सानैदेखि मिहिनेती उनलाई खेतबारीको काम सबै आउँथ्यो। ‘गाउँमा जन्मेँ, गाउँमै हुर्किएँ, आमा बुबालाई खेतबारीको काम सघाउने गरेँ। सानोतिनो खेतबारीको काम आउँथ्यो। त्यसैले होला सानैदेखि दु:ख, संघर्ष गर्ने बानी छ’, उनले कुराकानीकाे क्रममा बिएल नेपाली सेवालाई बिगत सुनाइन्।
बाल्यकालदेखिकाे त्याे संघर्षले आज उनी फर्म सञ्चालक हुँदै उदाहरणीय महिला व्यवसायीको रुपमा स्थापित भएकी छिन्।
‘माइतीमा पनि हाम्रो परिवार खेती किसान गर्दै गुजारा चलाउँथ्याे’, उनले भनिन्, ‘माध्यमिक शिक्षा सकाएर बुबाआमालाई सघाउँदै गाउँमै दु:ख गर्दै आफ्नो दिनाचर्या बिताउँदै थिएँ। त्यसपछि घर बसेर हुन्न भनेर सोचेँ, अनि विद्यालमा पढाउन थालेँ।'
बाल्यकालदेखि नै केही फरक गर्नुपर्छ भन्ने साेच राख्ने सुदिना बिहेपछि व्यवसायमा लागिन्। ‘हामी दुवैकाे जागिर थियाे, जीवन राम्रै चलेकाे थियाे तर बिहेपछि केही फरक तरिकाले काम गर्नुपर्छ भनेर उहाँ काठमाडाैँ आउनुभयो र तरकारी व्यापार सुरू गर्नु भयाे।’ उनले भनिन्।
सुदिनाका श्रीमान काठमाडाैँ आएर व्यापार गर्न थालेपछि उनीहरूले गाउँकाे जग्गामा फर्म सञ्चालनमा ल्याए। त्यसपछि सुदिनाले गाउँमा फर्म सम्हालिन्, श्रीमानले काठमाडाैँकाे व्यापार। सुरूवाती समयमा केही कठिन भए पनि विस्तारै सहज रूपमा काम गरेकाे उनी सुनाउँछिन्।
उनले भनिन्,‘भन्नलाई सजिलो छ, तरकारी व्यापारीहरु धेरै नाफा राखेर बेच्छन् तर जसले दु:ख गरेको हुन्छ उसलाई मात्र थाहा हुन्छ। वर्षाले सडक अवरुद्ध भएर गाउँबाट तरकारी नआउँदा कसरी बजार धान्ने भन्ने पीर हुन्छ। रातको १ बजे उठेर तरकारी बजार चहार्नुपर्छ। रातको १ बजेदेखि बजार चहारेको धेरै रात छ, कति दिन पानीमा रुझ्यौ धेरै दु:ख भोगेकी छु।’
उनीहरूले अहिलेसम्म आफ्नै बारीमा उत्पादन भएको अर्गानिक तरकारी बिक्री गर्दै आएका छन्। बारीमा उत्पादन कम भयाे भने विकल्पको रुपमा बल्खु र कालिमाटी बजार प्रयाेग गर्छन्।
अहिले गाउँकाे फर्ममा दुई जना कामदार छन्। उनीहरूले उत्पादन भएकाे तरकरी यता पठाउँछन्। सुदिनाले व्यापार गर्छिन्। विगतमा उनी शिक्षिका भए पनि अहिले व्यापारी छिन्। अहिले उनकाे जीवन राम्राेसँग चलेकाे छ। आफ्नाे समय अनुकुल काम गर्छिन्। कसैकाे दबाब हुँदैन स्वतन्त्र छिन्। भन्छिन्, ‘शिक्षण पेशा भन्दा त व्यापार नै राम्राे हाे, स्कुलमा जस्ताे दबाब र तनाव व्यापारमा छैन, आम्दानी पनि राम्राे छ, खुशी छु।’