टेकुको मेनरोडबाट शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल (टेकु अस्पताल) छिर्ने साँघुरो बाटो। साँघुरो सडकको पेटीमा चटपटे बनाउँदै गरेको दृश्य मेन रोडबाटै देखिन्छ। पाँच सात पाइला अघि बढेपछि उनीकहाँ पुगिन्छ।
गत साताअघि मध्यान्ह त्यहाँ पुग्दा झमझम पानी पर्दै थियो। ३६ वर्षीय शम्भु पण्डित चट्पटे बनाउँदै थिए। मधेशी मूलका उनी चटपटे बनाउन निकै कुशल थिए। मुख रसाउँदै चट्पटे खाने पर्खनेको लाइन थियो।
चटपटे खान पालो पर्खिरहेकाहरुलाई पालैपालो चटपटे दिँदै थिए। ठेलाभरि चट्पटे बनाउने सामग्री। साथमा सेनिटाइजर। समय समयमा आफ्नो हातमा सेनिटाइजर दल्दै थिए।
त्यो देखेर मेरो पनि मन थामिएन। मैले पनि बुक गरिहाले, 'अङ्कल, मलाई पनि ३० रुपैयाँको चट्पटे बनाईदिनुस् न है !' उत्ताबाट सकारात्मक प्रत्युत्तर आयो, 'भइहाल्छ, एकछिन कुर्नुस्।'
बर्षेझरीले भिजेको पेटीमा आकाश देख्ने एउटा छातामुनि बसेर हिलो, चर्को घाम, धुलोको पर्वाह नगरी धमाधम चट्पटेको ‘अर्डर’अनुसार चटपटे बनाउदै दिन थाले।
बिस्तारै वर्षेझरीको पानी बिदो हुने लक्षण देखिँदै थियो। फुस–फुस मात्र थियो वर्षा। त्यतिञ्जेलसम्म चटपटे खान लाइन लागेकाहरु सबैको भाग पुगिसकेको थियो। बल्ल लामो सास ताने। अनि भने उनलाई बोल्न फुर्सद मिल्यो।
सखारै उठेर चट्पटेको लागि चाहिने सर्दाम– मरमसला, आलु–मिर्ची, निबुजस्ता चटपटे र पानीपुरी बनाउने ठीक पार्छन्। दिनभरिलाई पुग्ने। सडक पेटीमा बसेर दिनभरि चट्पटे बेच्नु र रात परेपछि डेरा फर्कनु उनको दैनिकी थियो।
कोरोना महामारीपछि उनको 'रुटिन' फेरिएको छ। आजभोलि उनी दिउँसो १२ बजेपछि मात्रै चट्पटे बेच्नबाहिर निस्कन्छन्। व्यापार पनि निकै घटेको छ उनको। 'पहिलाजस्तो बिहानै आएर के गर्नु ! खाने मान्छे नै आउँदैनन्', उनले भने’, हिजोआज सडकमा मान्छे नै त्यति हिँड्दैनन्। त्यसैले १२ बजेतिर मात्र आउँछु।’
विगत ६ वर्षदेखि टेकु क्षेत्रमा चट्पटे बेच्दै आएका शम्बुले विगतमा भन्दा कोरोना नियन्त्रण गर्न सरकारले गरेको 'लकडाउन' का कारण कमाइ घटेको छ। विगतका दिनहरुमा प्रतिदिन २५ सय देखि ३५ सयसम्म कमाइ हुन्थ्यो, अहिले व्यापार घटेको सुनाए, 'लकडाउनअघि दिनमा खर्च कटाएर दिनमा १५ सयसम्म बच्थ्यो, अहिले त खर्च कटाएर सातदेखि नौ सयसम्म मात्र जोगिन्छ।'
कोरोना महामारीको दोस्रो लहर फैलिएपछि सरकारले गत बैशाख १६ गतेबाट स्थानीय प्रशासनमार्फत् निषेधाज्ञा जारी गर्यो। त्यसपछि केही समय उनी भारतको बिहार राज्यस्थित मोतिहारी जिल्ला फर्के– आफ्नो जन्मभूमि।
२०४३ सालमा मोतिहारीमा जन्मिएका हुन् उनी। सामान्य किसान परिवारका उनले धेरै पढ्न पनि सकेनन्। 'पहिला त भारतमै घर बनाउने ठाउँमा मिस्त्री काम गर्थें। काम त थियो तर पैसा वचत भएन। त्यसैले ६ वर्षअघि नेपाल आएर चट्पटे बेच्न थालेँ', उनले भने, 'अहिलेको कामले पहिलेभन्दा राम्रो कमाई भएको छ।' उनले राम्ररी बोल्छन्, नेपाली भाषा।
उनले चट्पटे बेचेरै चार छोरीहरु, श्रीमती, बुबाआमाको घरखर्च धान्दैआएको बताए। भारतस्थित घरमा पनि गरिखान आफ्नो जग्गा–जमीन नभएको र श्रीमतीले अरुको जग्गामा बनियारी (मजदुरी) गर्न जाने गरेको सुनाए। 'अहिलेसम्म गुजारा चलेकै छ। दुई जना छोरी स्कुल जाने बेला भएको छैन', उनले भने, 'चारै जना छोरीहरु स्कुल जाने भएपछि पढाउन गाह्रो हुन्छ होला। लकडाउनले मलाई पनि डाउन नै बनाइदियो।'
दुई जना साथीहरुसँग उनी ६ वर्षदेखि बल्खुमा डेरा गरी बस्दैआएका छन्। कोठाभाडा कटाएर यहाँ र मोतिहारीको घरखर्च चलाउन ठिक्क मात्र हुने उनले बताए। 'धेरै गाह्रो छ– घर धान्न। विगतमा राम्रै थियो। लकडाउनपछि मुस्किल भएको छ, हजुर', उनले भने।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणले थला परेको आर्थिक क्षेत्र चाँडै चलायमान हुँदै जाने कुरामा उनी आशावादी छन्। लकडाउनकै कारण फेरि व्यवसाय थन्क्याएर घर जानुपर्ने बाध्यता नआउनेमा उनी आशावादी छन्।
धेरै आम्दानी नभए पनि मेहनतअनुसारको आम्दानी राम्रै रहेको उनको भनाइ छ। काम नगरी गुजारा चलाउन सारै गाह्रो हुन्छ। 'चर्को घाम, धुलो, झमझम झरी ! दिनभरि सडक पेटीमा बसेर चट्पटे बनाउन गाह्रो छ', उनले भने, 'सडक पेटीमा बसेर चट्पटे त बेच्नै छ तर नगर प्रहरीहरु दिनभर घुमिरहनुहुन्छ। यस्तो सडकपेटीमा नराख, गाडी हिड्न, मान्छे हिँड्न गाह्रो हुन्छ भन्छन्। त्यसो भन्दा चित्त दुख्छ। धेरै गाह्रो छ, सडक छेउमा बसेर व्यापार गर्न !'
उनको ग्राहक केटीहरु मात्र धेरै छैनन्। केटा र केटी बराबरी नै आउँछन्– चट्पटे र पानीपुरी दुवै खान। 'सबै प्रकारको मानिस आउँछन्, सबैले राम्रै भनेका छन्, जोश, जाँगर अनुसार आम्दानी पनि राम्रै छ', उनले भने। उनलाई नेपाली समाज पनि मन परेको छ।
ठेलामा चटपटे बेच्न सुरु गरेको ६ वर्ष भयो। समय फेरियो। चटपटे खाने मान्छे फेरिए तर उनले व्यापार गरेको ठाउँ फरिएको छैन। उनले भने, 'अहिलेसम्म चित्त बुझ्दो नै कमाइ भइरहेको छ, अब पनि सरकारले थप कडा लकडाउन गर्न थाल्यो भने चाहिँ थप समस्या उत्पन्न हुन्छ कि !'