वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ। वर्ल्डलिंक फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको हो।
फोटोन उच्च गतिको इन्टरनेट हो। यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ। नेपालमा पहिलो पटक ३०० एमबीपीएससम्मको गतिमा इन्टरनेट उपलब्ध हुनेछ।
फोटोन स्किममा ग्राहकहरुले मेस वाइफाइ प्रणाली बाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने छन्। यस्तो वाइफाइ प्राप्त गर्न नोकियाको बेकन १.१ राउटरहरु प्रयोग गरिनेछ। यसले हाल घरहरुमा भइरहेको ढिला गतिका इन्टरनेटको समस्याको समाधान मेस वाइफाइले गराउने छ।
इन्टरनेट प्रयोगको एक उत्कृष्ट अनुभव दिन वर्ल्डलिंकले घरभित्र धेरै राउटरहरुलाई नेटवर्किंग गर्ने छ। मेष वाइफाइ प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो। यस्तो प्रणाली विस्तारीकरण राउटरभन्दा धेरै राम्रो हुन्छ।
मेष वाइफाइमा सबै राउटरहरु एक अर्कासंग जोडिएका हुन्छन्। त्यसमा म्यानुअल रूपमा वाइफाइ प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन। ग्राहकहरुले घरभरि इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटरलाई सार्न सक्नेछन्।
नयाँ इन्टरनेट सेवा सार्वजनिक कार्यक्रममा बोल्दै वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले भने, 'हामी विश्वव्यापी इन्टरनेट प्रविधिको उत्कर्ष सिमामा छौँ र हाम्रो घरमा इन्टरनेटको गति निरंतर बढाउनु पर्ने आवश्यकताका साथ साथै अत्याधुनिक उपकरण र प्रविधिसंगै एउटा गुणस्तरीय घरेलु नेटवर्किंग गर्नुपर्ने हुन्छ। घरमा भएका विभिन्न उपकरणहरु इन्टरनेटसँग जोडिएका हुन्छन्। त्यसैले हामीले नेपालमा पहिलो पटक ३०० एमबिपीएस गतिको वर्ल्डलिंक फोटोन सिरिज र यसको साथमा नोकिया बिकन १.१ राउटरको संगै मेष वाइफाइ होम सोलुसन शुरू गरेका छौँ।'
'यस्तो गतिको इन्टरनेट उपलब्ध गराउन पाउँदा हामीलाई गर्व लागेको छ। यी उपकरणहरुको नेटवर्किंग गर्दा घरमा अन्य नेटवर्किंग मापदण्डहरुको जाँच उत्कृष्ट जडान प्रक्रियको माध्यमबाट गरिनेछ। हामीले हाम्रा ग्राहकहरुलाई उनीहरुको घर परिसरमा एक अतुलनीय ब्राडब्यान्डको अनुभव दिन सक्छौं भन्ने कुरामा म विश्वस्त छु,' उनले भने, 'अहिलेसम्म नेपालको इन्टरनेट सेवामा एक अपूर्ण अंतर थियो। अब वर्ल्डलिंकले ल्याएको उच्च गतिको इन्टरनेट सुलभ मूल्यमा उपलब्ध हुने छ। यसले सबैको घरलाइ स्मार्ट बनाउने छ। अहिले हामीले काठमाण्डौमा फोटोन सेवा प्रदान गर्न हाम्रो नेटवर्क लाई अध्यावधिक गरेका छौं। हामी अन्य शहरहरुमा पनि फोटोन सेवा चाँडै नै शुरू गर्नेछौँ।'
वर्ल्डलिंक पहिले नै नेपालको ब्राडब्याण्ड क्षेत्रमा आईपीटीभी सेवाको एक प्रमुख आविष्कारक हो। यसले नेटटिभी ब्राणडमा आईपीटीभी सेवा उपलब्ध गराइरहेको छ। वर्ल्डलिंकले मुलुकका ११००० भन्दा बढी स्थानमा वाइफाइ हटस्पट बनाएर सर्वसाधारणलाई निःशुल्क वायरलेस इन्टरनेट उपलब्ध गराइरहेको छ। यस कम्पनीले कर्णाली जस्ता दुर्गम स्थानमा समेत वायरलेस ब्राडब्याण्ड टेक्नोलोजी सेवा पुर्यााएको छ।