'बा'लाई किन कहिल्यै भाेक लाग्दैन ?

Breaknlinks
Breaknlinks

'बा' !

खै कसरी बन्यो यति छोटो शब्द, जसमा धेरै माया लुकेको छ। संसार अटेको छ। यो एउटा अक्षरले बनेको शब्दमा सबै खुशी छन्।

खै, कसरी वर्णन गर्छन् होला मानिसहरु बा भन्ने शब्दलाई, म त यो एउटा शब्दमा पूरै संसार देख्छु। बाको मुहारमा खुशी नै सबथोक देख्छु। मेरो सानो प्रगतिमा पनि म भन्दा बढी बा नै खुशी भएको भेट्छु। खै कहाँ बाट सुरु गरौं यो मायाका कुराहरु, जुन कुरामा देखावटी माया बढी अनि मनदेखिको रिस कम छ।

बा भन्न साथ त्यो दिन याद आउँछ, जब म जन्मिदा समाजले फेरि पनि छोरी जन्मिछ भन्दै हजारौ कुराहरु गरे। मेरा बा भने लक्ष्मीको आगमन भयो भन्दै गाउँ भरी लड्डु बाँड्दै हिडेका थिए रे !

खै किन हो गाउँलेलाई नै त्यो दिन घरमै बोलाएर कहिले भान्सा पसेर आफ्नो लागि पानी सारेर नखाएका मेरा बा त्यो दिन सारा गाउँको लागि आफै खाना बनाएर खुवाएका थिए रे।

कहिले नाच्नका लागि नउठेका मेरा बा रातभर एक्लै नाचेका थिए रे। अनि अरुले भनेको केही सहन नसक्ने मेरा बा त्यो खुसी देखेर समाजले नाटक हो भन्दा पनि चुपचाप आफ्नै धुनमा रामाइरहेका थिए रे।

खै मेरा बा कस्ता हुन् ! न त कहिल्यै मेरो अगाडी मेरो लागि माया देखाए, न त कहिल्यै मेरो आखामा आँशु नै आउन दिए। मैले धेरै पटक देखेको छु, मेरो अगाडि रिसाएर खै किन हो एकान्तमा गएर रोइरहेका हुन्छन्।

मेरो अगाडि मलाई गाली गरेर मेरो फोटोको अगाडि मैसंग माफी मागिरहेका हुन्छन्। मेरो अगाडि केही गर्न नसक्ने भइस् जिन्दगीमा भनेर समाजसंग भने मेरी छोरिले गर्छे नि केही ठूलो काम जिन्दगीमा भन्छन्।

मेरा बा त स्वार्थी पनि अत्ति छन्, खै किन हो? आफू खाली खुट्टा हिँडेर मलाई कता-कताबाट हो थोत्रा चप्पल ल्याइदिन्छन्। आफू खाली पेट बसेर मेरो लागि भनी खै कता-कताबाट हो मलाई मीठो लाग्ने कुराहरु ल्याइदिन्छन्। मेरो जन्मदिनमा होस् या अरु दिन होस् मलाइ सधैँ सबैभन्दा खास छु भन्ने महशुस गराउन कै लागि अरुको अगाडि आफू भने लाचार, गरिब र बेइज्जत महशुस गर्छन्।

थाहा छैन कत्ति झुट बोल्न सक्छन्, मेरा बालाई न त भोक लाग्छ।

म मेरा हातखुट्टा र मेरा बाकाे हातखुट्टा हेर्छु। आफ्नै बाकाे हातखुट्टा र आफ्ना हातखुट्टा तुलना गर्छु। मेरा यी हात मुलायम र कोमल छन तर मेरा बाका ती हातखुट्टा फुटेका। खै कसरी त्यस्ता भएका होलान्, म फेरि ऐना अगाडि गएर आफ्नो अनुहार र मेरा अगाडि भएका ती बाको अनुहार हेर्छु, मेरो अनुहार यति कोमल छ।

सुनेको, सबैका बा भगवानको अर्को रुप हुन्छन रे। तर खै मेरा बा चाहिँ  मलाइ भगवानको दोश्रो रुप भए जस्तो लाग्दैन। किनभने मेरा बा त आफैमा भगवान हुन्। उनले भगवानले जस्तो काम त गर्दैनन तर मेरा बाले मेरा लागि त भगवानले पनि गर्न नसक्ने काम गर्न सक्छन्।

मलाई लाग्छ भगवान पनि कुनै दिन त थाक्छन् होला। तर, मेरा बा त कैले थाक्दैनन्। भगवान पनि कहिलेकाहीँ रुन्छन् होला। तर मेरा बा त कैले रुन्नन्। त्यसैले त म सोच्छु, बा भन्ने यति छोटो शब्द कसैलाई कसले नामाकरण गर्या होला भनेर।

उनै मेरा बालाई कुशे औँसीको शुभकामना। 

प्रकाशित मिति: : 2021-09-07 12:30:00

प्रतिकृया दिनुहोस्