मुख्यमन्त्री पोखरेल र विश्व बैंक नेपालका निर्देशकबीच भेटवार्ता: ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्रीको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच औपचारिक भेटवार्ता भएको छ।

मुख्यमन्त्री कार्यालयमा सोमबार भएकाे भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गरे। 

उनले विश्व बैंकले नेपालको समग्र विकासमा पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने अपेक्षा गरे। उनले भने, ‘विश्व बैंक र गण्डकी प्रदेशका बीचमा आगामी दिनमा महत्वपूर्ण सहकार्य हुने विश्वास व्यक्त गर्दछु।’

गरिबीको अन्त्य र साझा समृद्धिका लागि क्रियाशील विश्व बैंकले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको स्मरण र प्रशंसा गर्दै उनले गण्डकी प्रदेशको विकासमा पनि योगदान गर्दै आएकामा धन्यवाद दिए। मुख्यमन्त्री पोखरेलले भने, ‘गण्डकी प्रदेश हाम्रा विकासका प्राथमिकता र सम्भावनाका सवालमा यहाँहरुसँग हातेमालो गर्न इच्छुक छ।’

विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले नेपालको संघीयता सुदृढीकरणका लागि विश्व बैंक सदा अग्रसर रहेको भनाइ राखे।

कनेक्टिभिटीलाई आफूहरुले प्राथमिकतामा राखेर सहयोग गर्दै आएको भन्दै उनले मुस्ताङलगायत जिल्लामा उत्पादित अर्गानिक सामग्रीको ब्रान्डिङ र बजारीकरण लगानी गर्न तयार रहेको बताए।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अवलोकन गरेको हादादको टोलीले उक्त अस्पतालबाट भइरहेको सेवा प्रवाहबारे सन्तुष्टि जनाए। कोभिड १९ को सम्भावित तेस्रो लहरको तयारीमा उक्त अस्पतालमा काम गरिरहेको छ।

कोभिडविरुद्धको खोपको प्रभावकारिता बढिरहे पनि नेपालमा खोप खरिद प्रक्रियामा भएको ढिलासुस्तीबारे उनले असन्तुष्टि जनाए। स्कुले बालबालिकालाई छिटोभन्दा छिटो खोप लगाएर विद्यालय खोल्ने वातावरण सिर्जना गर्नुपर्नेतर्फ उनले ध्यानाकर्षण गराए।

भेटवार्ता विश्व बैंक र एसियाली विकास बैंकका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी, प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्ले, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल उपस्थित थिए।

प्रकाशित मिति: : 2021-09-06 19:58:00

प्रतिकृया दिनुहोस्