बीपीका आखिरी दिनहरू

हिमाल खबर

काठमाडाैं

जुलाई २०, १९८२ को दिउँसो हङकङमा पट्यारलाग्दो घाम लागेको थियो। त्यही साँझ म चार दिनका लागि ब्यांकक जानेवाला थिएँ। बीपी कोइरालालाई नेपालबाट उपचारार्थ ब्यांकक लगिएको करीब तीन-चार दिन भइसकेको थियो। बीपीको स्वास्थ्यका बारेमा म हरेक दिन गिरिजाबाबु (हामी परिवारमा सानुबुबा भन्थ्यौं)सँग जानकारी लिन्थेँ‍।

भ्रमणको तयारीका लागि म आधी दिनमा कार्यालयबाट घर फर्केर दिउँसोको खाजा खाँदै थिएँ। टेलिफोनको घण्टी बज्यो। ईश्वरी ९मेरी जहान०ले सानुबुबाको फोन ब्यांककबाट भनेर मेरो हातमा थमाइदिइन्। 'अब तिमी नआऊ। हामी सान्दाजुलाई भोलि नेपाल लग्दै छौं। डाक्टरले त्यही सल्लाह दिए। अब आश भएन।'

यस बाहेक खास कुरा भएन। म पनि बोल्न सकिनँ, सानोबुबालाई पनि त्यस्तै भयो होला। हवस् भनेर मैले टेलिफोन राखिदिएँ। चुप लागेर भारी मन थाम्दै गर्दा म हाम्रो अपार्टमेन्टको बार्दलीमा पुगेछु।

त्यो अपार्टमेन्ट साउथ चाइना सीतिर फर्केको २८ तले कम्प्लेक्समा चौधौं तलामा थियो। त्यो बार्दलीबाट टाढा तीव्र घाममा टल्किएको शान्त समुद्र देखिन्थ्यो। मेरो मनमा भने अनेक तर्क-वितर्कको आँधी चलिरहेको थियो।

म त्यही बार्दलीमा करीब दुई वर्ष अगाडि बीपीसँग भएका भलाकुसारी सम्झिन थालें। जापानको सोसलिस्ट पार्टीको निमन्त्रणामा त्यहाँको कार्यक्रम सिध्याएर नेपाल फर्किंदा बीपी ५-६ दिनका लागि हामीसँग बस्नुभएको थियो। उहाँसँग बुनु दिदी ९बीपीकी बहिनी० र सुशीला आमा ९बीपीकी धर्मपत्नी० पनि हुनुहुन्थ्यो।

बीपी जापान जानुभन्दा अगाडि नै राजा वीरेन्द्रले मे १९८० मा गराएको ‘सुधारिएको पञ्चायती व्यवस्था’ अथवा ‘बहुदलीय व्यवस्था’ मध्ये एक छान्न भएको जनमत संग्रहमा बीपीले समर्थन गर्नुभएको बहुदलीय पक्ष करीब चार लाख भोटले हारेको घोषणा भइसकेको थियो।
जनमत संग्रहमा पञ्चायत पक्षको व्यापक धाँधलीले बहुदल हारेको भन्ने अत्यधिक जनविश्वास थियो।

जनमत संग्रहको नतीजा स्वीकार नगर्नुस् भनेर बीपीमा बहुदलवादीहरूको तीव्र दबाब थियो। तर, बीपीले नतीजा स्वीकार गर्नुभयो। उहाँको तर्क थियो‘चुनावमा भाग लिएपछि त्यसको नतीजा स्वीकार गर्नैपर्छ।’ बीपीका अनन्य मित्र गणेशमान सिंहले पनि उहाँको निर्णयको भर्त्सना गर्नुभयो। कम्युनिष्टहरूको विरोधको त कुरै थिएन। बीपीको करीब पाँच दशक लामो राजनीतिक जीवनमा ती दिनहरू सायद सबैभन्दा निराशाजनक थिए।
 

प्रकाशित मिति: : 2021-09-05 13:28:00

प्रतिकृया दिनुहोस्