पन्जशिर युद्धः तालिबानलाई घुँडा टेकाउन 'एनआरएफ'ले बनाउँदैछ यस्ताे याेजना

Photo : Reuters
Photo : Reuters

अफगानिस्तानको पन्जशिर उपत्यकामा नेसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) र तालिवान लडाकूबीचको भीषण युद्ध तीन दिनदेखि जारी छ।

युद्धमा दुबै पक्षले एक अर्कालाई जितेको दाबी गरेका छन्। पन्जशिरका दुई  जिल्ला नियन्त्रणमा लिएको र आफूहरु मध्ये भागतर्फ बढेको तालिवानको दाबी छ। तर, सो दाबीलाई एनआरएफले अस्वीकार गरेको छ।

एनआरएफका नेता अहमद मसुदले तालिवानलाई आफ्ना सेनाले पराजित गर्ने दाबी गरेका छन्। त्यस्तै, एनआरएफका प्रवत्ताले पन्जशिरमा भीषण युद्ध जारी रहेको र हजारौ तालिवानलाइ घेराबन्दीमा पारेको बताएका छन्।

सो समूहका अर्का नेता तथा अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरूल्लाह सलेहले परिस्थिति असहज रहेको उल्लेख गर्दै फ्रन्टका फौजले निरन्तर लडिरहने बताए। तालिवानसँग आत्मसर्मपण नगर्ने उनले बताए।

‘हामी असहज  परिस्थितिमा छौं, किनकी अहिले तालिबानको हमलामा परेका छौँ, तर कुनै हालतमा आत्मसमर्पण गर्दैनौं।’ उनले भने। दुबै तर्फ ठूलो क्षति भएको उनले स्वीकारेका छन्। एनआरफको तर्फबाट पूर्व अफगान सुरक्षा निकाय र स्थानीय लडाकू तालिवानबिरुद्ध लडिरहेका छन्।

काबुलको उत्तरमा रहेको सो उपत्यका अफगानिस्तानको सानोमध्ये एक प्रान्त हो। पहाडको मध्य भागमा रहेको सो प्रान्त परम्परागत रूपमा नै तालिबानविरोधी गढ हो। झण्डै दुई लाख जनसंख्या भएको सो उपत्यकामा इतिहासमा पटक पटक आक्रमण र अतिक्रमणका प्रयास भएका थिए।

सन् १९८० को दशकमा रुसी अतिक्रमण बिफल पारिदिएको पन्जशिरबासीले सन् १९९६ मा तालिवानलाई पनि लखेटिदिएका थिए।

यसैबीच, अमेरिकाले पन्जशिरमा गृहयुद्ध भइरहेको टिप्पणी गरेको छ। 

प्रकाशित मिति: : 2021-09-05 08:39:00

प्रतिकृया दिनुहोस्