प्रदेश २ सरकारकाे विकास : तीन वर्षमा एक सय ४५ किलोमिटर सडक कालोपत्रे 

फाइल तस्वीर
फाइल तस्वीर

प्रदेश २ सरकार गठन भएको करिब चार वर्ष भएको छ। जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना पनि हुने गरेको छ। तर, प्रदेश सरकारले कुनै काम नै नगरेको भन्ने होइन।

पछिल्लो तीन आर्थिक वर्षमा प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लामा  एक सय ४५ किलोमिटर सडक कालोपत्रे गरेको छ भने एक सय ८४ किलोमिटर सडकको ढलान गरेको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो तीन आर्थिक वर्ष २०७५/०७६,२०७६/०७७ र २०७७/०७८ मा गरी प्रदेश सरकारले  विभिन्न ३२ वटा पुल निर्माण गरेको छ भने ८९ वटा कल्भर्ट निर्माण गरेको छ।

त्यसैगरी, प्रदेशका आठवटै जिल्लामा १७ किलोमिटर नाला निर्माण, दुई सय किलो मिटर कच्ची सडक निर्माण र तीनवटा झाेलुंगे पुल निर्माण गरेको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका दीपककुमार दासले विकास निर्माणको काममा गति बढी रहेको बताए। उनले भने, ‘सुरुमा ऐन कानुनको अभावमा विकास निर्माणको गति सुस्त थियो। तर, चालु आर्थिक वर्षदेखि विकास निर्माणको गतिमा व्यापक सुधार आउँछ।’

मुलुक संघीय संरचनामा गएपछि प्रदेश सरकार थपिएको छ। प्रदेश नयाँ संरचना भएको, ऐन कानुन, कर्मचारीको अभाव साथै अनुभवको अभावमा पनि जनअपेक्षाअनुसार सरकारले काम गर्न स्वाभाविक रहेको जनता समाजवादी पार्टीका सासद अब्दुल कलाम अजादले बताए।

उनले भने, ‘सुरुवाती अवस्थामा कर्मचारी, कानुन लागतयका अभावले सरकारले चाहेर पनि कामलाई अगाडि बढाउन सकेनन्। तर, अब विस्तारै विकास निर्माणको कामले गति लिँदै गएको छ।’

'सुरुवाती दुई आर्थिक वर्षको बजेट खर्च ५० प्रतिशत पनि हुन सकेनन्', उनले भने, ‘आर्थिक वर्ष २०७७/७८ मा त विगत दुई वर्षभन्दा बढी बजेटको रकम त खर्च भयो। बजेट खर्च बढेपछि विकास निर्माणको पनि बढ्ने हो। चालु आर्थिक वर्षमा त्योभन्दा बढी काम देखिन्छ।’

उनले आवश्यकताअनुसारको कर्मचारी व्यवस्थापन भएको खण्डमा प्रदेश सरकारको विकास निर्माण निर्माणको अवस्थामा व्यापक सुधार आउने दाबी गरे। न्युज कारखाना 

प्रकाशित मिति: : 2021-09-03 13:30:00

प्रतिकृया दिनुहोस्