कोकिन कारोबारको अखडा 'ठमेल' : नेपाल ट्रान्जिट भएर थाइल्यान्ड

सविन ढकाल

काठमाडौं

 २६ वर्षीय तान्जेनिया नागरिक किमारो दुई वर्ष देखि नेपालमा नै छिन्। पछिल्लो समय विश्वभाषा क्याम्पसमा नेपाली भाषा पढ्दै। उनलाई नेपाली भाषा विदेशी भए पनि धेरै नै आउँछ। त्यसैले पनि उनको संगत र सम्पर्कमा धेरै नेपालीहरू छन्। 

सन् २०१९ मा उनी पर्यटक भिसामा नेपाल आएकी थिइन्। त्यसपछि अप्रिलबाट भने स्टुडेन्ट भिसामा नेपालमा रहन थालिन्। किमारो क्षेत्रपाटीमा २० हजार रुपैयाँ मासिक तिरेर फ्ल्याटमा बस्दै आएकी थिइन्। त्यसैले, घरबेटीदेखि नजिकका पसलेसम्म किमारोको चिनजान राम्रै छ।

किमारो अहिले कोकिन प्रकरणमा हिरासतमा छिन्। लागू औषध नियन्त्रण ब्युरोको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीको प्रारम्भीक अनुसन्धानमा उनी नेपालमा बसेर कोकीन कारोबार गर्ने गरेको खुलेको छ। यसअघि नेपालमा बरामद भएका कोकिनका घटनामा पनि उनको संलग्नता देखिएको छ। प्रहरीले उनीसँग सम्पर्क भएका नेपालीहरूलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ। मोबाइल, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा धेरै पटक र शंका लागेका मानिसहरूसँगै प्रहरीले सोधपुछ पनि गरिरहेको छ।

'उनीसँग सम्पर्क भएका केही नेपालीहरूलाई ल्याएर सोधपुछ गरिसकेका छौँ। केही अझै राम्रो निगरानीमा नै छन्। उसको नेपालीहरूसँग सम्पर्क भएको देखिएको छ। तर, त्यसको कारण कोकिन कारोबार वा अरू नै हो भन्ने अनुसन्धान गरिरहेका छौँ,' लागू औषध नियन्त्रण ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले भने।

 

प्रकाशित मिति: : 2021-09-03 08:12:00

प्रतिकृया दिनुहोस्