भारतीय बालबालिकाहरूले गाउने एउटा गीत छ– ‘भाग्यो भाग्यो भाग्यो, ऊ पुच्छर समातेर भाग्यो।’
अफगानिस्तानमा तालिबान जिहादीहरूले सत्ता–कब्जा गरेपछि यो गीत फरक शब्द तर पुरानै लयमा गाउन थालिएको छ, ‘भाग्यो भाग्यो भाग्यो अमेरिका, काबुलबाट पुच्छर समातेर भाग्यो।’
जाँदाजाँदै अमेरिकी फौजले हेलिकप्टर छाडे। तोप पनि छोडे। अन्ततः उनीहरू उज्यालो नहुँदै काबुलै छाडी भागे। अमेरिकी गठबन्धनका सैनिकहरूले अफगानमा डेरा जमाई ‘तालिबान स–शस्त्र विद्रोही’लाई २० वर्षसम्म लखेट्नू लखेटे।
अमेरिकी सैनिकहरू तालिबानलाई आतङ्कवादी दुष्मनको संज्ञा दिन्थे तर अन्तिममा अमेरिका उनै आतङ्कवादीहरूलाई दुई दशक डेरा नै सुम्पिएर फर्के। अहिले पुनः गाउन थालिएको छ, भाग्यो भाग्यो भाग्यो अमेरिका, काबुलबाट पुच्छर समातेर भाग्यो।
अमेरिकी गठबन्धनले जतिसुकै घमण्ड गरे पनि आतंकवादी समूहलाई ‘उपहार’ दिएजस्तो गरी महंगा अत्याधुनिक हेलिकप्टर, हतियार तथा गोला–बारूद छाडेर भाग्नु सबैभन्दा ठूलो अमेरिकी कायरता हो। जानकारहरू भन्छन्– काबुल–दृश्य विश्व इतिहासको कालो पानामा दर्ज गरिने छ।
अमेरिकी कायरताबारे केही चर्चा गरौँ। सामान्यतया सैनिकहरूले युद्धग्रस्त क्षेत्रमा आफ्ना हातहतियार छाड्दैनन्। उनीहरू हतियार साथै लान्छन्। चर्चित भनाई छ– फौजीका लागि प्राणभन्दा हातहतियारै प्यारो! तर, अमेरिकी फौजले काबुलबाट हतियार लग्न सकेनन्। उनीहरूले ती अत्याधुनिक हातहतियार तालिबानले नपाउने गरी कतै छिपाउने प्रयास पनि गरेनन्।
अमेरिकी सैनिकले अन्ततः तालिबानलाई हतियारै सुम्पिए र ताँती लागेर काबुल विमानस्थल छाडी हात उठाएर भाग्न बाध्य भए। तालिबानले पनि उनीहरुको बहिर्गमनलाई सहज बनाइदिए। अत्याधुनिक र उच्चस्तरीय हतियार आतंकवादीहरूलाई हस्तन्तरण गर्नु विश्व मानव–समाजका लागि ‘अमेरिकी स्वार्थ समूह’ को ठूलो भूल हो।
अमेरिकी सैनिकले अफगान छोडेको दिउँसो अर्थात् २० वर्षपछि तालिबानहरूले काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा तीनै उन्नत हतियार खेलाई–लेखाई रमाए। जुन खतरनाक हतियार अमेरिकाले उनीहरूलाई बाध्यताबश भए पनि उपहारै दिए भन्दा फरक पर्दैन।
हतियार पाउने बित्तिकै विमानस्थलमा खटिएका तालिबान जिहादीहरूले अमेरिकाले छोडेका अत्याधुनिक हतियार र लाखौँ अमेरिकी डलर मूल्य पर्ने चस्मा प्रयोग गरी उत्सव मनाएका दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रशारण गरेका थिए।
एकातर्फ अफगानी नागरिकबीच फैलिएको त्राश र अर्कोतर्फ तालिबानहरू हर्षबढाइँमा बाँचिरहेका छन् काबुलमा। महाशक्ति राष्ट्र नै सबै–सबै छाडेर एकाएक भागेपछि स्वतन्त्रता लुटिएका अफगानी विवशताबश सामान्य जीवनमा फर्किएका छन्, मानौं यो एउटा अभिनय हो।
सन् २००० को दशकको सुरुसम्म विश्वका सबैभन्दा महाशक्ति देशहरू थिए– रुस (तत्कालीन सोभियत संघ) र संयुक्त राज्य अमेरिका। यी दुई महाशक्ति लगभग ३० वर्षअघि र ३० वर्षपछि मित्रहरूलाई हतियार र दुश्मन छोडेर भागे। रुस समर्थित शासन त्यहाँ तीन दशक चलेको थियो भने अमेरिकी संलग्नताको उनीहरू विश्व समाजका शक्ति हुन्। आधुनिक हतियार पनि उनैसँग छ तर लड्ने साहस भने पटक्कै छैन।
‘युद्धमा हतियार होइन, फौजी लड्छन्,’ अमेरिका आफ्नो पुच्छर समातेर रणभूमिबाटफर्के। अफगान सैनिकले लडाइँ नगरी तालिबानलाई हतियार हस्तान्तरण गरे। राष्ट्रपति अशरफ घानी हेलिकप्टरमा पैसा भनेर यूएईतर्फ भागे।
अत्याधुनिक हतियार अमेरिकी सैनिकसँग भएपछि तालिबान जिहादीहरू साहसी रहेछन् ता कि मोर्चा जितेरै छाडे। यसको अर्थ यो नलागोस् कि हामी तालिवान अतिवादीको समर्थन गर्नसक्छौँ। अतिवादी जिहादीको समर्थन भने बिल्कुलै गर्न सकिँदैन किनकि यो स्वतन्त्रता र आधुनिक सभ्य राज्यमा मेलखाने कुरा होइन।
अमेरिकी सैनिकले काबुल छाड्नेबित्तिकै संयुक्त राष्ट्रसंघीय सुरक्षापरिषद्ले अफगानिस्तानलाई आतंकवादीको अड्डा बन्न नदिने बताएको छ। निर्दोष अफगानी जनताको पवित्र मातृभूमिमाथि आक्रमण, धम्की वा आतङ्कवादीलाई प्रयोग गर्न नदिनेतर्फ एसियाली मुलुकहरू एकजुट नहुनु अर्को चिन्ताको विषय हो।
अफगानिस्तानबारे भारत र पाकिस्तान कस्तो भूमिकामा रहलान्? यो उनीहरूका लागि नयाँ चुनौती थपिएको छ। अफगानिस्तानमा तालिबानले पूर्ण रुपमा सरकार बनाइसकेको छैन।
चीन र पाकिस्तानले लगभग तालिबान सत्ताको समर्थनमा खुलिसकेका छन्। भारतले जतिसुकै तालिबानविरोधी गफ हाँकेपनि कतारस्थित दोहामा सुटुक्क प्रतिनिधि पठाएको पर्दा खुलिसकेको छ।
तालिबान पुरानै शैलीमा नहिँड्ने जस्तो भ्रम सुरुका दिनमा दिए पनि उसले आफ्नो रङ्ग देखाउन थालेको छ। कतिपय प्रान्तमा महिला तथा बालबालिकाका स्वतन्त्रतामाथि जिहादीहरूले हस्तक्षेप गरिरहेका छन् तापनि अन्तर्राष्ट्रिय समुदायलाई देखाउनका लागि मात्र किन नहोस्, तालिबानले सरकारमा महिलासमेत सहभागी बनाउने भनेर जुन बारम्बार बताइरहेको छ। त्यो भने राम्रो सङ्केत हो। यसलाई स्वतन्त्रताका हिमायतीहरुले शुभसङ्केतका रुपमा लिनुपर्छ।
तालिबानसँग अफगानी नागरिक नमिली र तालिबानले अफगानी नागरिकको मन नजिती सुखै छैन। युद्ध कहिलेसम्म र कसका लागि? आखिर विदेशीको काखमा बसेर सत्ता चलाउने सपनाले अन्ततः राजनीतिक नेतृत्वको पतन निश्चित छ।
अमेरिकी मोहोरा बनेका भगौडा पूर्वराष्ट्रपति अशरफ घानी राजनीतिक सङ्कटमा आफू मात्रै बाँच्न जनताको जिउधनको कुनै पर्वाह नगरी विदेश युएईको अबुधावी भागे– सम्पत्ति र पत्नी–परिवारसहित।
राजनीतिक नेतृत्वले बेलैमा अफगानी जनताको भविष्य र राजनीतिक समाधान नसोच्दा यस्तो दुर्गति आइलागेको हो। अफगानिस्तानको स्रोत–साधन र नेताहरू भरपूर उपयोग गरी भाग्यो अमेरिका– ‘भाग्यो भाग्यो भाग्यो अमेरिका, काबुलबाट पुच्छर समातेर भाग्यो...!’
एजेन्सीकाे सहयाेगमा