२०७५ साल पुस ४ गते चितवनस्थित कालीबहादुर गणबाट हतियार हराएको घटनाले अहिले नेपाली सेनालाई दुई कित्तामा विभाजन गरेको छ।
सेना भित्रकै एक तप्काले घटनाको सत्यतथ्य बाहिर ल्याएर सेना र पीडित पक्षको बारेमा वकालत गर्दै आएको छ भने,अर्को पक्षले सेनालाई कमजोर तुल्याउने र भर्खरै संगठनको जिम्मेवारी सम्हालेका प्रधान सेनापति प्रभुराम शर्मालगायत सैनिक अधिकारीलाई विवादमा तान्न लागिपरेको छ।
प्रधान सेनापति शर्मालाई असफल बनाउन अग्रसर समूहले जङ्गीअड्डाबाटै प्रचारप्रसार गरेको तथ्यसमेत फेला परेको जंगी अड्डा सम्बद्ध स्रोतको दाबी छ। चितवन घटनालाई उचालेर प्रधान सेनापतिलाई विफल बनाउने खेलमा प्राड विवाककै अधिकारीहरु लागि परेको स्रोतले बतायाे।
नाम उल्लेख नगर्ने शर्तमा उनकै विभागमा कार्यरत एक जुनीयर अधिकृतले बिएल नेपाली सेवासँग भने, ‘चिफसाफलाई कमजोर बनाउन उहाँहरुले पहिला संगठनको हितमा काम गर्नेलाई नै विवादमा ल्याएपछि आफूहरुलाई सहज हुने भएपछि यस्तो खेल भएको हो।
स्रोतका अनुसार, चितवन घटनालाई मोडेर सेनालाई विवादमा ल्याउने र असली अभियुक्तलाई भगाएर निर्दोषलाई मुस्ने काम समेत प्रमुख सेनानी अमित प्याकुरेलबाटै भएको हो।
के हो चितवन घटना ? कसको कमजोरी ?
दोस्रो विश्वयुद्धमा सहभागी ‘दि फेमस महिन्द्र दल’ का सिपाही गंगाधर ढकालले मिति २०७५ पुस ४ गते बिहान कालीबहादुर गणको कोतबाट बट नं १००७८२ एस.एम.जि. (सटमेसिनगन) चोरी गरे।
कालीबहादुर गणबाटै सैन्य तालिम गरेकाले उनलाई हतियार र कोतबारे जानकारी थियो जसका कारण उनलाई गणमा छिरेर हतियार निकाल्न सहज भयो। ढकाल ‘दि फेमस महिन्द्र दल’बाट पुस १ गते बिदामा बसेका थिए।
हतियार हराएपछि अनुसन्धान सुरु भयो।
अनुसन्धानका क्रममा त्यति बेला ड्यूडीमा रहेका सिपाही सुबी गुरुङ, लवकुमार तामाङ र सरोज तामाङलाई लागू औषध दिएर हतियार चोरीमा सावित गरियो। सहदेव खड्काको अध्यक्षतामा गठन भएको सैनिक अदालतमा मुद्दा दायर गरी सो अदालतले पनि सोही ठहर गरी सुबीलाई ३ महिना, लवकुमारलाई ७ र सरोज तामाङलाई १० वर्ष सजाय तोकियो।
त्यति बेला पक्राउ गरिएकाहरुलाई लट्ठ पार्ने औषधि सेवन गराउन सल्लाह प्रमुख सेनानि अमित प्याकुरेललेनै सल्लाह दिएकाे स्रोतले जानकारी दिएको छ।
प्याकुरेल त्यति बेला मध्य पृतना, हेटौँडामा कानून अधिकृत थिए। स्रोतका अनुसार, प्याकुरेलले त्यति बेला प्राड सेनानि दुर्गा बस्नेतलाई सैनिक अदालतको सदस्यमा राखेका थिए।
लामो समयसम्म सैनिक संगठनको मुद्दा पुनरावेदनबाट फैसला नहुनु दुर्भाग्यपूर्ण रहेको पूर्वसैनिक अधिकारीहरु बताउँछन्।
सैनिक अदालतका अध्यक्ष सरोज राणाले मृगेन्द्र बस्नेतले आर्थिक चलखेल गरेको आशङ्कामा उनलाई अदालतको सदस्यबाट हटाएर सेनानि गणेश रायमाझीलाई राखेका थिए।
प्रधान सेनापतिका बफादार भन्दै सेनाभित्र चिनिएका अभियोजन महाशाखाका अधिकारीको नाम विवादमा ल्याएर उनलाई सेनापतिबाट टाढा गराउन केही अधिकारी लागिपरेको सैनिक मुख्यालयका एक अधिकृतले बताए। नाम नबताउने शर्तमा प्राडका एक अधिकारीले बिएल नेपाली सेवासँग भने, ‘सरोज र लवकुमारको २०७५ सालको मुद्दा उनै रत्नप्रकाशले हेरेर जाहेरी उठाएका थिए, त्यस बेला अभियोजन महाशाखानै गठन गरिएको थिएन।’
सैनिक अभियोजन महाशाखालाई मुछ्ने र सेनाको अनुसन्धानलाई कमजोर तुल्याउने उद्देश्यले प्रचार गरिएको उनको भनाइ छ।
उनका अनुसार, सैनिक अभियोजन महाशाखा २०७७ भदौ ११ गते स्थापना भएको थियो।
स्रोतका अनुसार तत्कालीन प्रधान सेनापति पूर्णचन्द थापाले यो मुद्दालाई छिटो टुग्याउन निर्देशन दिए पनि रत्नप्रकाशले आलटाल गर्दै आएका थिए।
चितवन घटनाले उग्र रुप लिएपछि घटनाको करिब चार वर्षपछि प्रधान सेनापति प्रभुराम शर्माले जिम्मेवारी लिएसँगै मुद्दालाई अघि बढाउन निर्देशन थिएका थिए।
त्यसपछि रत्नप्रकाशसहितको सैनिक पुनरावेदन इजलासले बिहीबारको पेशीमा मिसिल झिकाउने आदेश गरेको थियो।
अबको जनताको चासो भनेको प्रस्तुत विषयमा हाल पिडित भनिएकाले कस्तो न्याय पाउलान्, अनि सेनाको विषयमा यसरी जथाभावी प्रचारप्रसारमा लागेका सेनाभित्रका अधिकारीलाई नयाँ सेनापतिले कस्तो कारवाही गर्लान्, हेर्न बाँकी छ।