जनप्रतिनिधिबीच विवाद हुँदा सोरुमा अझै पेस भएन बजेट

जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकामा अझै पनि बजेट पेस हुनसकेको छैन। चालु आर्थिक वर्षको बजेट पेस नहुँदा सेवा प्रवाह र विकास निर्माणका काम अन्योलमा परेको छ।

गत २० असारमा आठौ गाउँसभा उद्घाटनका क्रममा जनप्रतिनिधिबीच विवाद भएपछि गाउँसभा अन्योलमा भई हालसम्म पनि बजेट पेश हुननसकेको हो।

विवादका कारण स्थगित भएको गाउँसभा कहिले बस्ने अझै निश्चित छैन। बजेट बाँडफाँट नहुँदा वडादेखि गाउँपालिका स्तरमा छनोट भएका दर्जनौ योजनाले गति लिन सकेका छैनन्।

असार मसान्तपछि अहिले जनप्रतिनिधि र केही कर्मचारी कार्यालयविहीन भएका छन् भने केही कर्मचारी जिल्ला बाहिर छन्।

स्थानीय तह सञ्चालन ऐनअनुसार १५ असारभित्र गाउँसभा सञ्चालन गरी आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिसक्नुपर्ने व्यवस्था छ। तर सोरु गाउँपालिकाले तोकिएकै मितिमा गाउँसभा सञ्चालन नगर्दा बजेट पेश हुन सकेको छैन।

बजेट पेस नहुँदा वडास्तरमा छनोट भएका योजना अघि बढाउन समस्या भएको वडा नम्बर २ का वडाअध्यक्ष ऐनबहादुर शाहीले बताए।

विवादका कारण बजेट बाँडफाँट नहुँदा कुनै पनि योजनाको काम सुरु भएको छैन। कर्मचारीले जेठदेखि तलब पाएका छैनन्। बजेट पेश नहुँदा सबैजसो विषयगत शाखा र वडा कार्यालय कामविहीन बनेको वडा अध्यक्ष शाहीले बताए।

जिल्लाका मुगु मकार्मारोङ, खत्याड गाउँपालिका र छायानाथ रारा नगरपालिकाले भने चालु आर्थिक वर्षको बजेट पास गरी योजना सम्झौताको काम सुरु गरेका छन्।

विभिन्न कारणले बजेट बाँडफाँटमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए। 'केही जनप्रतिनिधि पनि जिल्ला बाहिर हुनुहुन्छ,' अध्यक्ष शाहीले भने, 'नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि गाउँसभाको आयोजना गरी बजेट पेस गरिनेछ।'

सोरुमा ४ वर्षको अवधिमा ५ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। राजनीतिक खिचातानीले गाउँपालिकामा हरेक वर्ष प्रशासकीय अधिकृत फेरबदल हुँदा दैनिक, प्रशासनिक र विकास निर्माणका योजना प्रभावित हुँदै आएको छ।न्युज कारखाना

प्रकाशित मिति: : 2021-08-30 14:17:00

प्रतिकृया दिनुहोस्