एनआईसी एशिया क्यापिटलको ४८ प्रतिशत लाभांश प्रस्ताव पारित

एनआईसी एशिया क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारणसभाले चुक्ता पूँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने रु.९ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। आइतबार, क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथलीमा सम्पन्न भएको छ।

सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/०७८को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरण पनि पारित गरेको छ।

सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले स्थापनाको ५ बर्षको छोटो अवधिमै हाल सञ्चालनमा रहेका ३० मर्चेन्ट बैंकर्समध्ये निक्षेप सदस्यतर्फ प्रथम, म्युचुअल फण्डमा दोस्रो तथा लगानी ब्यवस्थापनमा दोस्रो  स्थानमा रहन सफल भएको जानकारी गराए।

ढकालले क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवाअन्तर्गत आ.व. २०७७/७८ को अन्त्य सम्ममा १० वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको एवं निष्काशन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म सातवटा कम्पनीको प्राथमिक शेयर निष्काशन, चार वटा कम्पनीको हकप्रद शेयर निष्काशन र १५ वटा कम्पनीको बोलकबोलमार्फत् शेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको जानकारी दिए।

अत्याधुनिक प्रणालीको व्यावसायिक उपभोग गर्ने रणनीतिअनुरुप संस्थाले डिम्याट खाता र मेरो शेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद तथा लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ।

साथै आगामी दिनमा लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, खुलामुखी योजनाको इकाईको खरिद बिक्री लगायतका क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाईज रुपमा उपत्यका बाहिरबाट समेत अनलाईन मार्फत गर्दै लैजाने रणनीति संस्थाले लिएको छ।

संस्थाले प्रदान गर्ने सेवालाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ काठमाडौं उपत्यकाभित्र किर्तिपुर, चावहिल र अनामनगरमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ।

साथै निकट भविष्यमा उपत्यका बाहिरबाट समेत शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गर्ने रणनीति संस्थाले लिएको छ। संस्थाले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ।

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तरगतको बन्दमुखी सामूहिक लगानीकोष योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्सड् फण्ड तथा एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्ड र पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड सञ्चालन गरिरहेको छ। साथै संस्थाले पाँचौ बन्दमुखी योजना एनआईसी एशिया फेलेक्सी क्याप फण्ड सञ्चालनको अन्तिम तयारी गरिरहेको छ।

प्रकाशित मिति: : 2021-08-29 14:08:00

प्रतिकृया दिनुहोस्