भारतको हिमाचलमा नेपाली बालिकाको अपहरणपछि बलात्कार, एक नेपाली युवक पक्राउ

REPRESENTATION PHOTO
REPRESENTATION PHOTO

भारतको हिमाचल राज्यस्थित किन्नौर जिल्लामा नेपाली मूलकी एक बालिकामाथि अपहरणपछि बलात्कार भएको छ।

किन्नौर जिल्लामा बस्दै आएकी नेपाली–१३ वर्षीया बालिकामाथि अपहरणपछि बलात्कार भएको प्रहरीले जनाएको छ।

बालिकालाई प्रलोभन देखाउँदै अपहरण गरी बलात्कार गरेको आरोपमा एक नेपाली युवक पनि पक्राउ परेका छन्। आरोपित ती २४ वर्षीय नेपाली युवकलाई अपहरण गरी बलात्कार गरेको गम्भीर आरोप लागेको यशवन्त नगर प्रहरीले जनाएको हाे।

पीडित बालिकालाई उद्धार गरी किन्नौर प्रहरीले आफन्त र परिवारको जिम्मा लगाइसकेको छ। आरोपित ती युवकलाई जिल्ला अदालत किन्नौरमा पेश गरिएको प्रहरीले जनाएको छ। उनी अहिले प्रहरीको न्यायिक हिरासतमा छन्।

कोरोना महामारीले स्कूल बन्द भएको मौका छोपी युवकले बालिकालाई अपहरण गरेका हुन्। घर–छेउमै खेलिरहेकी ती बालिकालाई डर–धम्की देखाएर किन्नौर जिल्लाकै दुर्गम गाउँ राराचबलन गाउँ पुर्‍याएको प्रहरीको दाबी छ।

लकडाउनले काम–धन्दा रोकिएपछि पछिल्लो समय ती युवकले बालिकामाथि प्रलोभन देखाउँदै आएको परिवारको आरोप छ।

बालिकाको परिवारले नगर चौकीमा युवकविरूद्ध अपहरणको उजुरी दिएपछि प्रहरीले साइबर सेलको सहयोगमा बालिकाको उद्धार र युवकलाई पक्राउ गर्न सफल भएको हो।

‘प्रहरीले युवकको फोन विवरण पायो र कडाईका साथ कारबाही अघि बढायो,’ नगर प्रहरी इन्चार्ज चेतन चौहानले भने, ‘हामीहरूले किन्नौरमा बालिका र युवकलाई खोज्न अभियान नै चलायौँ। सफल पनि भयौँ।’

वर्षातको अप्ठेरो समयमा इन्चार्ज चौहान र प्रहरी जवान विकास ठाकुर नेतृत्वको टोलीले आफ्नो ज्यान जोखिममा राखी दुर्गम गाउँबाट युवतीको उद्धार गरेको प्रहरीले बताएको छ।

अहिले पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेकाे प्रहरीको भनाई छ। आरोपित युवकलाई भारतीय दण्ड संहिताको धारा ३७६ र ३६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको हिमाचल अभी–अभीले जनाएको छ।

हिमाचलस्थित किन्नौर, शिमला, कूल्लुलगायत जिल्लामा नेपाली तथा गोर्खाहरूको बाक्लो बसोबास रहेको छ। प्रायः मानिस स–परिवार यहाँ बस्दैआएका छन्। कोरोना कहरले यसपटक रोजगारीका लागि थोरै नेपाली यी जिल्लाहरूमा आएपछि उनीहरूको संख्या भने ठूलै छ।

प्रकाशित मिति: : 2021-08-29 09:23:00

प्रतिकृया दिनुहोस्