नगरकोटीको वर्णनमा पाठक लट्ठिने सम्मोहन त छ, तर कथा कता बग्दै छ भन्ने भेउ पाइँदैन।
अनायासै विषय परिवर्तन भइरहन्छ, कथाको प्लटभित्र सब–प्लट खप्टिरहन्छ। स्वैरकल्पनाको मियोलाई फन्को मार्दामार्दै सकिन्छन् धेरै कथा। त्यसपछि के पढें भनी सोची ल्याउँदा केही याद रहँदैन।
नाइजेरियाली मूलका अमेरिकी लेखक तेजु कोल लेखनमा बहुविधाको प्रयोगका लागि विख्यात छन्। शब्दसँगै फोटोग्राफी र चित्रकलाको अपूर्व संगम छ, उनका आख्यान र गैरआख्यानमा। उपन्यास वा निबन्ध पढ्दा घटनाको सचित्र वर्णनानन्द मिल्छ। हान कांग र खालिद हुसैनीका पछिल्ला कवितासंग्रहमा शब्द र तस्वीरको एकसाथ प्रयोगले पाठकको एकाग्रता तान्छ।
आजभोलि दुई वा दुईभन्दा बढी विधाको मिश्रण कला बाक्लै देखिन्छ। आफ्नो रचनामा अन्य किताबबाट कुनै सन्दर्भ उल्लेख गर्ने पद्धति त धेरै सामान्य भइसक्यो। कुमार नगरकोटीको लेखनमा पनि विधाहरूको खप्ट्याइ, भञ्जन र बहुप्रयोग व्यापक हुन्छ। विगत दुई दशकदेखि लेखनरत नगरकोटीले स्वैरकल्पनामा अलग पहिचान बनाएका मात्र छैनन्, प्रयोगको अर्को नाम बनिसकेका छन्।
उनको पछिल्लो किताब कल्प–ग्रन्थ पनि अनेकौं प्रयोगले भरिएको छ। प्रयोग अनुसार कथाहरूलाई इन्स्टलेसन स्टोरिज, परास्टोरिज, पोस्टकार्ड स्टोरिज, टाइपोग्राफिक स्टोरिज जस्ता विभिन्न खण्डमा बाँडिएको छ।