मदनका प्रिय थिए जनवादी गायक जेबी टुहुरे

‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ, यो देश, मुठीभरलाई त स्वर्ग छ’

 ‘आमा दिदीबहिनी हो, छोराहरू हो छोरीहरु हो,’

‘आँधी खोलैले मलाई रोइरहने बनायो साउको जालैले’

यस्ता दर्जनौँ जनवादी गीतका गायक जेबी टुहुरे अर्थात् जुठबहादुर खड्गी अब रहेनन्।

७८ वर्षको उमेरमा उपचारका क्रममा उनको बिहीबार बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो।उनी पहिलो संविधानसभामा माओवादीका तर्फबाट सदस्य थिए ।

एक साताअघि ब्रेन स्ट्रोक भएपछि उनलाई उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो। टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका विरामी थिए। २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले एक सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन्।

उनी दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए। २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ।

जेबी टुहुरे पञ्चायतकालीन समयमा जनवादी गायकका रूपमा परिचित थिए। उनले गाएका गीत पञ्चायती निर्दलीय व्यवस्थाविरुद्ध आन्दोलनको बिगुल बन्यो । राज्यबाट शोषित र उपेक्षित किसान र मजदुरको आवाज बन्यो। उनी आफ्ना गीतमा असमानताले थिचिएका विपन्नको आवाज बनाउँथे। त्यसैले पनि सबैले उनलाई मन पराएका हुन्।

सरल र सहज स्वभावका टुहुरे सधैं सत्ताका विरोधी रहे। सत्तामा पुगेपछि आफ्नै साथीहरू पनि परिवर्तन हुने उनको भनाइ थियो। उनले दिएका धेरै अन्तर्वार्तामा यस्ता कुरा आउँथे। तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीसँग टुहुरे धेरै नजिक थिए । ०४६ को परिवर्तनपछि पनि टुहुरे मदनको निवासमा गइरहन्थे। 

प्रकाशित मिति: : 2021-08-26 13:40:00

प्रतिकृया दिनुहोस्