बाँदर धपाउने यन्त्र वितरण

किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि पूर्वीचौकी गाउँपालिकाका (डोटी) विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ।

मकै बालीमा बाँदरले आएर नोक्सानी गर्न थालेपछि किसानको आग्रहमा साइन नेपाल नामक संस्थाले  बाँदर धपाउने यन्त्र वितरण गरेको हो।राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट खरिद गरी ल्याइएका  यन्त्र गाउँपालिकाका सात वडामा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए।

उक्त यन्त्र पड्काउँदा ठूलो आवाज आउने र ध्वनि प्रदूषण गर्ने भएकाले वडाको जिम्मामा आवश्यकतानुसार मात्र पड्काउने शर्तमा वितरण गरिएको हो।

बाँदरको आतङ्कबाट छुट्कारा पाउन गाउँपालिकाका सातवटै वडाका अध्यक्षलाई २५ थान यन्त्र हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए।

बाँदर धपाउने यन्त्र प्रभावकारी देखिएको स्थानीय बासीले बताएका छन्।

यन्त्र पड्काउँदा कम्तीमा पनि २० वटा बन्दुक पड्काए जति आवाज आउने र बाँदर पहिलेको ठाउँबाट भागेर नयाँ ठाउँमा जाने भएकाले किसानको खेतीबारी सुरक्षित हुने साइन नेपालले जनाएको छ।

 

प्रकाशित मिति: : 2021-08-25 11:37:00

प्रतिकृया दिनुहोस्