तालिबानले राज्य–सत्ता कब्जा गरेपछि अफगानिस्तान अहिले संसारकै चासाे र चिन्ताकाे मुख्य विषय बनेकाे छ ।
तालिबानलाई सत्ताच्यूत गरी अफगानिस्तानमा २० वर्षसम्म शासन चलाउन मुख्य सहयाेगी बनेकाे अमेरिकी गठबन्धकाे बहिर्गमन 'ठूलाे पर्दाकाे चलचित्र' जस्तै बनेकाे छ, जो पछिल्लाे पुस्ताका लागि गम्भीर अध्ययनको विषय हो ।
अमेरिकी तथा नेटाे सैनिक फिर्ता र तालिबान शान्तिवार्ताका लागि कतारको दाेहा धाउनुपर्ने बाध्यताभित्र अनेक राेचक र कठीन कारणहरु छिपेका हाेलान् तर अमेरिकी प्रशासनकाे आलाेचना गर्नैपर्ने तमाम तथ्यहरू भने जीवित छन्।राज्यसत्ताको पतन एकैपटक हुँदैन । यसकाे पनि आफ्नै सिद्धान्त र लय छ। नोवेल पुरस्कार विजेता अमेरिकन उपन्यासकार तथा कथाकार अर्नेस्ट हेमिंग्वे (१८९९-१९६१) ले एकपटक भनेका थिए– कंगाल बन्ने प्रक्रिया 'सुरूमा बिस्तारै, अनि झ्वाट्टै' हुन्छ।
तालिबान सशस्त्र विद्राेही पुनःसत्तामा फर्किएका छन्। पछिल्लाे सङ्कट नियालेर हेरिरहेका विश्वका तमाम विचारकहरू अमेरिकी गठबन्धन र छिमेकीहरूकाे भूमिका बुझ्ने प्रयत्नमा छन् ताकि शान्ति र स्वतन्त्रताका लागि अफगानिस्तानको आकाशबाट कालाे बादल छिट्टै हट्ने छ।
इस्लामिक कट्टकपन्थी तालिबानकाे काबुल दखलले अफगानी नागरिकहरूको भविष्य कस्ताे हाेला? यसले विश्व राजनीतिलाई के असर पार्छ ? यस्तै–यस्तै जिज्ञासाले भरिएका छन्, मुख्य सञ्चारमाध्यमका प्रमुख विषयवस्तुहरू।
अहिलेकाे दृश्य चित्रण गर्दै अमेरिकी थिङ्कट्याङ्क काउन्सिल अन फरेन रिलेसन्स (सीएफआर) का सभापति रिचर्ड हासले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोषी ठहर्याएका छन्। उनका अनुसार, अहिलेको परिस्थितिमा हार स्वीकार गर्नुभन्दा लड्नु नै बढ़ी महत्वपूर्ण हुन्थ्याे।
यसैगरी भारतकाे नयाँदिल्लीस्थित नीति अनुसन्धान केन्द्रका ब्रह्म छेलानेले तालिबानसँग लड्न अफगानी सेना अक्षम हुँदाहुँदै बाइडेन प्रशासनको सेना फिर्ता बोलाउने निर्णयलाई गैरजिम्मेवार ठानेका छन्। छेलाने भन्छन्, 'अमेरिकाले पछिल्लो दुई दशकमा आफूमा निर्भर सहयात्रीलाई त्यागेको यो दोश्रो पटक हो।'
अमेरिकाले सेना फिर्ता लैजानु सही निर्णय भएकाे जर्जटाउन विश्वविद्यालयका चार्ल्स कुपचन बताउँछन्। उनका अनुसार अफगानिस्तानमा पश्चिमको रणनीति सुरूदेखि नै गलत मार्गबाट अघि बढेको थियो। उनीहरूको लक्ष्य अफगानिस्तानमा केन्द्रीकृत एकात्मक राज्य बनाउने स्पष्ट थियाे।
'द इकोनोमिस्ट' म्यागेजिनका पूर्वप्रधानसम्पादक बिल एम्मन्टले अफगान सङ्कट रणनीतिका कारण नभई 'खराब छिमेकी' काे संज्ञा दिँदै पाकिस्तानमाथि औँला तेर्स्याएका छन्।
संयुक्त राज्य अमेरिकाको लामो समयदेखि चलिआएको निन्दनीय शैन्य हस्तक्षेप र यसमा अमेरिकी प्राथमिकताले नीतिनिर्मातालाई धोका दिएको कोलम्बिया विश्वविद्यालयका जेफ्री डि साचसकाे दाबी छ। जेफ्रीले अमेरिकी प्रशासनले स्थानीय जनताको अपमान गरेको भन्दै कडा आलोचना गरेका छन्।
अफगानिस्तानमा सिर्जीत लाजमर्दों परिस्थितिले अमेरिकाको विश्वव्यापी भराेसामाथि ठूलो असर परेको तर्कमा विमति राख्ने थोरै भेटिएका छन्। 'लण्डन स्कूल अफ इकोनोमिक्स'का फवाज ए. गर्गसले काबुलमा जारी भागदाैड र हतासका बीच मानवीय सङ्कट छायाँमा पारेको बताएका छन्। उनले याे अवस्था सिर्जना हुनुकाे सबै दोष अमेरिकासहित उसका सहयात्री देशहरूमाथि थुपारेका छन्।
अमेरिकामाथिको विश्वास हट्नु भनेको अमेरिकी डलरका लागि प्रत्युत्पादक भएकाे कथाम हाउसका अध्यक्ष जिम ओ नील दाबी गर्छन्। अफगानिस्तानको पुनर्निर्माणमा चीन र रूस महत्वपूर्ण खेलाडी हुने चासाे व्यक्त गर्न थालिएकाे छ। जसको तालिबानसँग तुलनात्मक रूपमा राम्रो सम्बन्ध छ।
अमेरिकाको बहिर्गमनसँगै मध्य–एसियाको खुला व्यापार र राम्रो पूर्वाधारसहित सङ्गठित हुने अवधारणाले आफ्नो स्वरूप लिने किर्गिस्तानका पूर्वप्रधानमन्त्री जूमार्ट अटोरबेव बताएका छन्। उनी मध्य–एसियाकाे एकताका लागि तम्तयार समेत छन्।
अफगाननिकट विचारक तथा चिन्तकहरूले तालिबानकाे काबुल फीर्ति र अमेरिका समर्थित राष्ट्रपति असरफ घानीको पलायनलाई अमेरिकी विफलताका रूपमा विश्लेषण गरिरहेका छन्। तथापि, अमेरिकी प्रशासनकाे विशेष र सुझबुझपूर्ण निर्णय भन्ने विचारसमेत बजारमा उत्तिकै छन्।
– एजेन्सीहरूकाे सहयाेगमा