साताको शेयर बजार: ९५ अर्बभन्दा बढीको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो।

उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठूलो परिमाणमा वृद्धि भयो। अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य वृद्धि भयो।

कमजोर भनिएका जलविद्युत् कम्पनीको शेयर मूल्य अस्वाभाविक रुपमा वृद्धि भएपछि विद्युत् नियमन आयोगसमेत बोल्नुपर्ने अवस्थामा पुग्यो। प्रतिफलसमेत असाध्यै कम दिन सक्ने भनेर प्रक्षेपण गरिएका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो।

सङ्घीय संसद्को अर्थ समितिमा नेपाल धितोपत्र बार्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरुले गैरकानूनी रुपमा खरिद गरिएको भनिएको एक कम्पनीको शेयरका बारेमा राम्रै बहस भयो। यद्यपि शेयर बजारमा भने केही कीर्तिमानसमेत कायम भयो। नेप्सेले तीन हजार दुई सयको विन्दु पछ्यायो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको सामान्य प्रभावमा बजारमा देखियो। बैंकले शेयर खरिदमा प्राप्त गर्दै आएको मार्जिन लेन्डिङको सीमामा कडाइ गरेको छ। यस्तै सिडी रेसियोमा पनि नयाँ व्यवस्था गरेको छ।

कारोबारको अन्तिम दिन नेप्से दोहोरो अङ्कले घट्यो भने अन्य दिन सामान्य रुपमा मात्रै वृद्धि भए। कारोबार रकम औसतमा रु १८ अर्बको हाराहारीमा रहन पुग्यो।  नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता कूल दुई सय २९ कम्पनीको १५ करोड ७१ लाख २६ हजार चार सय ८४ कित्ता शेयर रु ९५ अर्ब नौ करोड ५८ लाख १३ हजार पाँच सय ९२ मूल्यमा खरिद–बिक्री भए।

साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम ग¥यो। त्यस दिन नेप्से २४.५७ अङ्कले घटेर तीन हजार १५४.३३ मा पुग्यो। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० विन्दुले घटेर ५८९.२८ मा पुग्यो।

कूल दुई सय २२ कम्पनीको तीन करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता शेयर रु २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ मूल्यमा खरिदबिक्री भए। कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने ओरालो लाग्यो।

कारोबारका आधारमा त्यस दिन नेपाल बैंक शीर्ष स्थानमा रही रु एक अर्ब पाँच करोड ४६ लाख ७८ हजार आठ सय १५ बराबरको कारोबार भयो।  आइतबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो। त्यसमा खानीखोला हाइड्रोपावर, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्सुरेन्स कम्पनी थिए। 

प्रकाशित मिति: : 2021-08-21 17:25:00

प्रतिकृया दिनुहोस्