तालिबान लडाकूद्वारा भारतीयसहित १५० प्रवासी अपहरण

File photo
File photo

अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल छेउबाट तालिबान लडाकूहरूले एक सय ५० प्रवासीहरूलाई अपहरण गरेका छन्।

तालिबानद्वारा अपहरित प्रवासीहरूमध्ये धेरैजसो भारतीय नागरिक रहेको समाचार एजेन्सी एएनआईले जनाएको छ। आ–आफ्नो देश फर्किन विमान कुरिरहेका उनीहरूलाई हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थल नजिकैबाट अपहरण गरिएको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार टिभी–९–हिन्दीले दाबी गरेको छ।

दर्जनभन्दा बढी मिनी बसमा आएका तालिबान लडाकूहरूले अफगान छोड्न तर्खर गरिरहेका प्रवासीलाई अपहरण गरेका हुन्। भारतीय वायुसेनाको एक विमान आफ्ना नागरिक फिर्ता ल्याउन काबुल उडेपछि भारतीयसहित अन्य प्रवासीहरूलाई तालिबानद्वारा अपहरित भएको समाचार आएको हो।  

भारत सरकारले आफ्ना नागरिकहरू अपहरणबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। विदेश मन्त्रालयका एक अधिकारीले अपहरणको आधिकारिक पुष्टि नभएको र सोधखोज जारी रहेको बताएका छन्।

प्रकाशित मिति: : 2021-08-21 14:29:00

प्रतिकृया दिनुहोस्