केन्द्रीय बैंकले भन्याे- तीन करोड ६० लाखभन्दा बढी निक्षेप खाता

देशभरका कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गरी वित्तीय पहुँच पुर्‍याएका छन्।

धादिङको रुवीभ्याली, जाजरकोटाको जुनीचाँदे र बझाङको साइपालमा भने वाणिज्य बैंकका शाखा खुल्न सकेको छैन। ती स्थानीय तहमा पनि वाणिज्य बैंकको शाखा कार्यालय स्थापना लागि आवश्यक पहल भइरहेको छ।

केन्द्रीय बैंकले विहिबार सार्वजनिक गरेको ‘नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन’ अनुसार २०७८ चैत मसान्तसम्म  इजाजत प्राप्त क, ख र ग वर्गका बैंकिङ संस्थाका शाखा सङ्ख्या पाँच हजार ९७८ पुगेको छ।

प्रतिवेदनअनुसार निक्षेप खाता सङ्ख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता सङ्ख्या १६ लाख ८२ हजार ८४५ रहेको छ। विवरणअनुसार  नेपालका बैंक तथा वित्तीय संस्थाबाट १६ लाख ८२ हजार बढीले ऋण लिएको देखिन्छ।

 नेपाल राष्ट्र बैंकले २०७७ जेठ मसान्तसम्म कायम भएका निक्षेप खाताको विवरणको आधारमा उक्त अध्ययन गरिएको जनाएको छ।

वित्तीय साक्षरताको प्रवद्र्धन, शाखा विस्तार, शाखा रहित बैंकिङ भुक्तानी प्रणालीको आधुनिकीकरणलगायतका कारणले बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा दिने नागरिकको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको पाइएको छ।

निक्षेप खातामा महिलाको हिस्सा बढी

केन्द्रीय बैंकका अनुसार कूल निक्षेप खातामध्ये महिलाको खाता सङ्ख्या बढी रहेको छ। कूल निक्षेप खाता ६७.७ प्रतिशत खाता सक्रिय छन्। त्यसमा पुरुषको हिस्सा ६५.२ प्रतिशत र महिलाको हिस्सा ७२.३ प्रतिशत रहेको छ।

कूल निक्षेप खातामध्ये बचत निक्षेप खाता ९०.६ प्रतिशत रहेको छ। यस्तै, मुद्दती निक्षेप खाताको हिस्सा ३१ प्रतिशत छ। ग्रामीण क्षेत्रका नगरपालिकामा ८१.५ प्रतिशत खाता सक्रिय रहेको छ। व्यक्तिगत खातामा ९६.१५ प्रतिशत हिस्सा वयस्क व्यक्तिको छ।

केन्द्रीय बैंकका अनुसार २०७७ जेठ मसान्तसम्म तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता खोलिएका छन्। तीनपुस्ते विवरणका आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तसम्म कम्तीमा एक निक्षेप खाता भएका नेपालीको सङ्ख्या ६०.९ प्रतिशत रहेको अध्ययनमा देखिएको छ।

प्रकाशित मिति: : 2021-08-20 20:06:00

प्रतिकृया दिनुहोस्