मृगौला पीडितलाई सहयोग गर्ने भन्दै ठगी धन्दा चलाउँदै आएका तीन जना पक्राउ

मृगौला पीडितको सहयोग गर्ने नाममा ठगी गर्ने तीन जना पोखराबाट पक्राउ परेका छन्।

युनिक स्वयम् सेवक नेपाल नामक संस्थाका तीन जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेकाे हाे।

केन्द्रीय कार्यालय धरान सुनसरी रहेर दर्ता भइ सोही संस्थाको नाममा भएको रसिद लिएर बिनाअनुमति चन्दा असुलेको आरोपमा प्रहरीले उनीहरुलाई पक्रेको हो।

पाल्पाको साबिक झडेवा गाविस वडा नम्बर-५ घर भइ हाल माथगढी गाउँपालिका ४ बस्ने मृगौला पीडित चुडाबहादुर रुचालको उपचारको लागि पोखरामा चन्दा उठाउदै गरेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे थियाे।

पक्राउ पर्नेमा संस्थाकी अध्यक्ष झापा विर्तामोड नगरपालिका-९ पश्चिम स्ट्याण्ड बस्ने ३४ वर्षकी एलिजा बस्नेत, सदस्य झापा हल्दिबारी गाउँपालिका-१ का ४४ वर्षीय धन बहादुर सेन्चुरी र अर्का सदस्य झापा विर्तामोड-१ पश्चिम स्ट्याण्डका ३२ वर्षीय टेक बहादुर बस्नेत रहेका छन्।

पोखरा महानगरपालिका २६ बिजयपुरमा रहेको न्यू हाई वे स्टाफ होटल एण्ड लजबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यसअघि विभिन्न १२ जना बिरामीको नाममा चितवन, तनहुँ, दैलेख, सुनसरी, रूपन्देही, नवलपरासी, कास्की, पाल्पा, स्याङजा गरी नाै  जिल्लाबाट बिनाअनुमति चन्दा संकलन गरेका खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

चन्दा संकलनका लागि समूह-समूह बनाई दैनिक भाडामा १० वटा अटो ट्याम्पोसमेत लिएर देशका मुख्य शहरमा पुग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरू बसेको होटल खानतलासी गर्दा कोठाबाट चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा तथा नगद चार लाख ६ हजार ४ सय ६ रुपैयाँ रकमसमेत बरामद गरेको छ।

पक्राउ परेका तीनै जनाकाे लागि कानूनी कारबाही अगाडी बढाइएको छ। चन्दा ऐन २०३० अन्तर्गत कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप्ने अनुमति लिएर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-08-20 19:37:00

प्रतिकृया दिनुहोस्