कोरोना महामारीबीचमै 'मर्दी हिमाल' पदमार्ग स्तराेन्नति [फाेटाे फिचर]

फोटो: सुदिप गौतम

पोखरादेखि नजिकको पर्यटकीय गन्तव्य 'मर्दी हिमाल पदमार्ग'को मर्मत तथा स्तरवृद्धि भएको छ।

करिब तिन दशकअघि क्याम्पिङ ट्रेकको रुपमा सुरु गरिएको पदमार्ग विदेशी पर्यटकहरुको रोजाइमा पर्ने पदमार्ग मध्य पर्दछ। पछिल्लो समय ठाउँ-ठाउँमा लज निर्माण भएपछि खाना बस्नको सुविधा थपिएको छ। योसँगै आजकल यो पदमार्ग स्वदेशी पर्यटकमाझ छोटो र मिठो ट्रेकको रुपमा लोकप्रिय हुँदै गएकाे छ।

लो क्याम्पदेखि 'भ्यू प्वाइन्ट'सम्म सिँढी निर्माण र पदमार्गको सुधार गरिएको पर्यटनकर्मी तथा मर्दी हिमाल ट्रेकका अभियन्ता सुदिप गौतमले बताएका छन्। अप्ठ्याराे गोरेटोमा फलामको रेलिङ राखिएको छ। पदमार्ग सुधार र स्तरवृद्धिको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागले आर्थिक सहयोग गरेको थियो भने मर्दी हिमाल पर्यटन समितिले नियमन र अनुगमनमा हातेमालो गरेको थियो । 

काँडेबाट सुरु गरिने पदमार्ग, प्रितम देउराली, फरेस्ट क्याम्प, लो क्याम्प, बादल क्याम्प हुँदै हाइक्याम्पसम्मको पदयात्रा निकै रोमाञ्चक हुन्छ। हाइक्याम्पबाट बिहानै एक डेढ घण्टाको पदयात्रा गर्दै ४००० मिटरको भ्यू पोइन्टसम्म पुग्दा दर्जनौ हिमालको लामो लर्कनको दृश्य आँखा अगाडि देख्न पाउदा पदयात्री दंग पर्छन्। यसको साथै निकै टाढा-टाढासम्म देखिने रमाइला डाडाँ-काँडा र उपत्यकाले यात्रा अत्यन्तै मोहित बनाउँदछ।

मर्दी हिमाल ट्रेक सबै उमेर समूहका व्यक्तिको लागि उपयुक्त गन्तब्य भएको पर्यटनकर्मी गौतमले बताए। गत साल कोरोना महामारी रोकथाम र नियन्त्रणको लागि लगाएको पहिलो चरणको लकडाउसँगै देशैभरिको पर्यटक गन्तव्यहरू बन्द भएका थिए।

केही समयपछि लकडाउन खकुलो बनाएसँगै मर्दी हिमाल ट्रेकका व्यवस्थापन समितिले कोरोना संक्रमण र नियन्त्रणको मापदण्ड पालना गराउदै सयौँ स्वदेशी पर्यटकले यो ट्रेकको भ्रमण गरेका थिए।

लामो समय कोरोना महामारीले हिँड्डुलमा प्रतिबन्ध लाग्यो। भाइरस संक्रमणको डरले घरभित्र धेरै लामो समय मानिसहरु घरभित्र बस्न बाध्य भएका छन्। 'वाक्क-दिक्क भएको जीवनलाई केही दिन यात्रामा बिताएर शरिर र मन पुनःताजगी ल्याउन पनि यो पदमार्ग उपयुक्त छ।', पर्यटनकर्मी गौतमले भने।

पर्यटन नगरी पोखरादेखि पर्यटकको समय हेरेर पाँच-सात दिनमा यो ट्रेकको यात्रा गर्न सकिन्छ। अन्नपुर्ण हिमश्रृंखलाको लर्कनसँगै माछापुछ्रे हिमालको नजिकै दर्शन, गुराँसे जङगलको बाटो छिचोल्दै मनोरम दृश्यवलोकन यो ट्रेकको विशेषता हो।साथै फर्किदा क्यान्योनिङ्गको मजा लिदै घलेल र ल्वाङ्गका सुन्दर गुरुङ वस्तीमा होमस्टेमा बास वसेर पोखरा फर्किन सकिन्छ।   

प्राकृतिक सौन्दर्य, नजिकबाट हिमालको दर्शन, रंगीचंगी फूलको बाटो, चराचुरुङ्गीको आवाजमा पदयात्राको आनन्द लिँदै मन बहलाउन मर्दी हिमाल ट्रेक पर्यटकको पर्खाइमा छ।

तस्विरहरु: सुदिप गौतम

प्रकाशित मिति: : 2021-08-20 19:49:00

प्रतिकृया दिनुहोस्