अटेरी राजनीतिक दल, कट्टर भक्तजन

मस्टाे परम्परामा पुजा लाग्ने चारवटा पुर्णिमा मध्ये साउन पुर्णिमा महत्त्वपूर्ण मानिन्छ। देउताका पालीहरू(भक्तजन) लामाे तिर्थयात्रामा निस्कने भएकाले ठूलो भीडभाड बढी हुन्छ। 

यहि परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रण गर्न सबै प्रकारका धार्मिक मेला पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ।

कोरोना संक्रमणकाे जाेखिमकै कारण कर्णालीको सबैभन्दा लामो जात्रा गत वर्षदेखि हुन सकेकाे छैन भने यो वर्ष पनि गर्ने नदिने निर्णय भइसकेको छ। 

कोरोनाका कारण धार्मिक आस्था धरापमा पर्न थालेपछि जुम्लीहरु संयमित हुँदै तिर्थ यात्रामा निस्किएका छन् भने जुम्लाकाे सरकारी टाेली पनि बढिमालिका प्रस्थान गरिसकेको छ।  

कोरोना संक्रमण फेरि बढ्दै गएको र जात्रासँगै धार्मिक मेला महोत्सवले संक्रमण बढाउने भएकोले सबै खाले मेला, महोत्सवपूर्ण रुपमा बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले जानकारी दिइन्। 

'कोरोना संक्रमण बढ्दै गइरहेको समयमा डेल्टा भेरियन्टकाे जाेखिम बढ्ने संभावना भएकोले धार्मिक मेला बन्द गर्ने निर्णय भयो। अधिकांश मानिहरु संलग्न हुने स्थितिमा यस्ताे निर्णयले काेराेना अझै पनि छ भनेर संयमित हुनुपर्छ भन्ने सन्देश दिन खाेजिएकाे हाे,' उनले भनिन्, 'यो निर्णय जुम्लाबासीको स्वास्थ्यका हिसावले निकै फाइदाजनक हुनेछ।' 

'धार्मिक मेला गर्दा भिडभाड निकै बढी हुन्छ। न मास्कको प्रयोग हुन्छ न त सामाजिक दूरी नै कायम हुन्छ' झन् लापरबाही हुने भएकोले धार्मिक मेला नलगाउँदा नै उत्तम हुने जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निष्कर्ष छ। 

बैठकले अहिले भइरहेको बिहान ६ देखि दिउँसो ४ बजेसम्म बजार खोल्ने र ४ बजेपछि निषेधाज्ञा गर्ने कार्यलाई निरन्तरता दिएको छ। जुनसुकै समयमा कोरोना सर्न सक्ने भएकोले चार बजे पनि निषेधाज्ञा गर्ने निर्णय अवैज्ञानिक भएकाे स्थानीय जगतबहादुर शाहीले बताए।

'कोरोना त दिउँसो पनि सर्छ होला। दिउँसो बजारमा भिडभाड हुन्छ। चरम लापरबाही देखिन्छ,' उनले भने, 'कि निषेधाज्ञा कडा हुनु पर्यो। कि त बिहानदेखि बेलुकासम्म बजार खोल्नु पर्‍याे।' 

दुई सातासम्मका लागि पहिलेकै जस्तो कायम रहने गरी १५ दिन निषेधाज्ञा थप गरेकाे छ भने अत्यावश्यक काम बाहेक भिडभाड गर्न नपाइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ।

'भदौ महिनामा यहाँ धार्मिक मेला धेरै लाग्छन्। यो मेलालाई धार्मिक मेलाका रुपमा हेरिँदै आएको छ। यो महिना कोरोनाका हिसावले निकै जोखिमपूर्ण महिना हो। रोकथाम तथा नियन्त्रणका लागि सबै निकाय जिम्मेवाररुपमा प्रस्तुत हुनुपर्छ,' प्रजिअ प्रसाईले भनिन्।

उनले जुम्लाका आठैवटा स्थानीय तहले गाउँघरमा हुने भिडभाडलाई नियन्त्रण गर्न र सचेतनाका कार्यक्रमलाई जोड दिनुपर्छ भनी प्रमुखहरुले जिल्ला कोभिड व्यवस्थापन  समितिको बैठकमा प्रतिबद्धता गरेकाे जानकारी दिइन्।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिले सदरमुकाम केन्द्रित निषेधाज्ञा गरे पनि गाउँमा निषेधाज्ञाको कुनै अनुभव नगरिएको हिमा गाउँपालिका पाथरखाेलाका धर्मेन्द्र अधिकारीले बताए। उनले भने, 'लामाे तिर्थायात्रामा छायाँनाथ, ऋणमाेक्ष, गडुनाली, माहाबु लगायतका स्थानमा देउताका पालिहरु निस्किएका छन्।' 

त्यस्तै जुम्लामा भिडभाड नगर्ने भनिएपनि राजनीतिक दलहरुले संगठन विस्तार, भेला, सम्मेलन, बैठक मार्फत भिडभाड गगरिरहेका छन्। निकै भिडभाडका बीचमा कार्यक्रम गरिरहेका फेसबुक पाेष्टहरु देखिन थालेका छन्। पछिल्लो समयमा राजनीतिक दलका कार्यक्रमले कोरोना संक्रमण बढ्न सक्ने तातोपानी गाउँपालिकाका स्थानीय रबि नेपालीले बताए।

'सडकमा भिडभाड गर्ने, सभा सम्मेलनमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नगर्ने काम राजनीतिक दलबाट भइरहेको छ,' उनले भने, 'उनीहरुले जोखिम बढाउने कार्य गरेकोले तत्काल रोक्नु पर्ने हुन्छ।'

काेराेना राेगथामका लागिसबैभन्दा बढी जिम्मेवारी राजनीतिक दलमै भएकाे प्रजिअ प्रसाईले बताइन्। 'प्रशासनकाे सूचनामा धार्मिक मेलामात्र हाेइन राजनीतिक पार्टीका भेला पनि नगर्ने भन्ने नै छ,' उनले भनिन्, 'तर केन्द्रदेखि नै उहाँहरुकाे गैरजिम्मेवारी देखिएकाे छ। याे संकट व्यवस्थापनकाे जिम्मा उहाँहरुकाे पनि हाे।'

प्रकाशित मिति: : 2021-08-20 10:42:00

प्रतिकृया दिनुहोस्