एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रायः ठाउँमा भनिरहने (मैले नै तीनपटक सुनेको छु) एउटा कथा छ–
कुनै देशमा कुनै समय एउटै शिशुमाथि दुइटी आमाको दाबी परेछ। विवाद न्यायाधीशकहाँ पुग्यो। सुनुवाइ भयो। बयान लिइयो। दुवैका जिकिर पत्यारलाग्दा देखिए। न्यायमूर्ति अन्योलमा परे। शिशु जसलाई दिए पनि अन्याय हुने देखियो। समाधानस्वरूप ६–६ महिनाका दरले मातृत्व बाँडिदिन चाहे। तर, दुवैले मानेनन्।
अन्ततः न्यायाधीश फरक कठोर निर्णयमा पुगे। इजलासले आदेश दियो, ‘खास आमा पहिचान गर्न नसकिएको र दुवैको समान हक देखिएकाले शिशुलाई चिरेर आधा–आधा भाग लगाइदिनू।’
‘हुन्छ,’ एउटी आमा हतार–हतार चिच्याइन्, ‘यसमा म राजी छु।’
‘हुँदैन’, अर्कीले भनिन्, ‘बरु उसैलाई दिनुस्। यो बच्चालाई नचिर्नुस्।’
बल्ल न्यायाधीशले वास्तविक आमा चिने। जसले शिशुको ज्यान बचाउन चाहिन्, उनी थिइन् खास जन्मदाता। जसलाई चिरे पनि फरक परेन, उनी कृत्रिम थिइन्।
माधव नेपाल शायद टक्क अडिए !
आफैंले १५ वर्ष नेतृत्व गरेको र उर्बर बनाएको एमाले फुटाएर नयाँ सिर्जनामा लाग्दा सम्भवतः उनको मन कँुडियो। भाउन्न भयो। रिँगटा छुट्यो। तर, पनि कठोर निर्णय लिइसकेका थिए उनले। जानु नै थियो। छोड्नु नै थियो। हिँड्नु नै थियो।
फर्किएर आइरहने छोरी अन्माउँदा त घरमा वेदनायुक्त वातावरण हुन्छ। आँसुका धारा बग्छन्। ‘आमा’ सरहका नेपाल स्वयं घरबाट अन्मिइरहेका थिए। स्वेच्छाले। आफ्नै मर्जीले। अझ कहिल्यै नफर्किने अठोट लिएर।