सामाजिक सञ्जालको ‘जञ्जालमा’

Breaknlinks
Breaknlinks

म तपाईंको आफ्नै मोबाइल। तपाईंकै हातमा टक्क अडिएको छु। संसारका धेरै व्यक्तिको अभिन्न वैज्ञानिक उपहार। जुनसुकै अवस्थामा जतासुकै लैजान मिल्ने भएकोले  मलाई मोबाइल भनिएको हो।

अमेरिकन इन्जिनियर 'मार्टिन कोपरले' सन् १९७३ अप्रिल ३ मा मलाई स्थापित गरेका थिए। समय अनुरूप मलाई विभिन्न नामाकरण गरियो। कसैले स्मार्ट फोन, कसैले सेल फोन त कसैले हाण्ड- हेल्ड फोनको नामले सम्बोधन गर्न थाले।

मानव इतिहासको विकासक्रम सँगै विज्ञान प्रविधिको उदयमानले मेरो रूप, रंग र आकार परिवर्तन हुँदै गयो । वर्षै पिच्छे नयाँ 'म' हुँदै फैलन थाले। 0'G' मोटोरोला बाट 5'G' एप्पलसम्मको मेरो ऐतिहासिक यात्रा संसार परिवर्तनको ठूलो हिस्सा बन्न पुग्यो।

मेरो हरेक व्यक्ति अनि ब्रान्ड अनुरूप नयाँ–नयाँ न्वारन हुन थाल्यो। नोकिया, लाभा, सामसुङ, हुवाई, इन्टेक्स, लेनेभो, आसुस, एमआईदेखि एप्पलसम्म विकशित हुँदै फैलिए मेरा दाजुभाइहरु। नाम र न्वारन फरक फरक भए पनि हाम्रो उत्पति बिन्दु एउटै हो, इनर इन्जिनियरिङ् एउटै हो, बंशाणु गुण एउटै हो, कार्य शैली उस्ताउस्तै हो। समय अनुरूप हाम्रो क्षमता अप्रत्याशित रूपले सगरमाथा  चुम्न पुग्यो।

मेरो सफ्टवेयररूपी गर्भभित्र सयौं सदस्यको बास हुँदै गयो। २००४ मा फेसबुक, २००५ मा युट्युब, २००६ मा ट्विटर, २०१० मा इन्स्टाग्राम, २०१६ मा टिकटकलगायत इमो, स्नाप च्याट, वाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जालका परिवारहरू वृद्धि हुँदै गए। त्यसपश्चात मेरो आवश्यकता संसारभर चरम बिन्दुमा पुग्न थाल्यो।

आज म संसारका दुई सयभन्दा बढी देशमा छरपष्ट फैलिएको छु। विज्ञान र प्रविधि युगको महत्त्वपूर्ण सदस्य बन्न पुगेको छु। विभिन्न मुलुकका फरक फरक भाषा, धर्म, संस्कृति र सभ्यता बोकेका व्यक्तिको हात हातमा पुगेको छु। आ-आफ्नो सहजताको अनुरूप म उनीहरूको प्रयोगमा आइरहेको हुन्छु।

'आर्टिफिसियल इन्टलीजेन्स'को आधारमा निर्मित म एउटा विद्युतीय साधन हुँ। मानिसले मलाई यसरी प्रयोगमा ल्याउँछन् की, म छक्क पर्छु।  फरक-फरक फिङ्गर प्रिन्ट भएका औंलाका टुप्पोले विभिन्न  स्वादको खोजीमा अचेतन रगडिरहेका हुन्छन् मलाई। कतिपय भर्चुअल संसारमा यसरी रमाई रहेका हुन्छन्, वास्तविकता नै बिर्सी दिन्छन्। के हेरिरहेका, के देखिरहेका हुन्छन्? काल्पनिक दुनियामा कता-कता रुमाली रहेका हुन्छन्? उनीहरूमा कुनै भौतिक दायरा नै बाँकी रहँदैन।

उनीहरूले मलाई रगड्दा-रगड्दा म 'म' नै रहँदिन। म थाक्छु। म गल्छु। मेरो सम्पूर्ण शक्ति सत्यानास हुन्छ। तर मलाई एकछिन पनि विश्राम गर्न दिँदैनन्। विद्युतीय शक्ति मार्फत मलाई फेरि सञ्चालनमा ल्याउँछन्। मेरो भन्दा पनि अनवरत रूपमा शक्ति समाप्त त मानिसकै भइरहेको हुन्छ होला, म सोच्छु। म छक्क पर्छु की पृथ्वीको सर्वोउत्कृष्ट प्राणी मानिसलाई मैले अकल्पनीय रूपमा आफ्नो मुठ्ठीमा नचाई रहेको हुन्छ। यसरी नचाई रहेको हुन्छ कि, उसले कहाँ पुगे? कुन परिस्थितिमा पुगे? के गर्दै छु? किन गर्दै छु?  के हेर्दै छु, के चलाउँदै छु? के का लागि मोबाइल रगडि रहेको छु? भन्ने सम्पूर्ण पक्ष भुल्छ।

कतै  म मानिसको लागि अल्कोहल, निकोटिन, कोकिन र क्याफिन त बन्न पुगिन! अहँ! कदापि होइन। मेरा धेरै प्रयोगकर्ताहरुको लागि म भयानक उपहार बन्न पुगेको छु। कतिपयको त मैले जीवन नै कायापलट गरी दिएको छु।

मभित्र हजारौं गुणहरू छन्। तिमी मानिस किन त्यस्ता जीवनदायनी गुणहरुप्रति अनविज्ञ छौ। संसारमा यस्ता विज्ञानैक, इन्जिनियर, चिकित्सक, उद्यमी अर्थात् आफ्नो विधाका उत्कृष्ट व्यक्तित्वहरुले मलाई भर्‍याङ बनाएर सफलताको शिखरमा उक्ली रहेका हुन्छन्। सायद म बिना उनीहरू सर्वोउत्कृष्ट हुन असम्भव जस्तो नै हुन्थ्यो। मैले नै कतिपय सकारात्मक व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चर्चा परिचर्चामा ल्याइरहेको हुन्छु।

धेरै कलाकार, चित्रकार, साहित्यकार, पत्रकार, नाटककारहरुका लागि विश्वविख्यात सफलताको क्याप्सुल बनेको छु। मलाई विश्वास गर मानिस, मेरो सन्तुलित र सकारात्मक प्रयोगले तिम्रो हरेक कर्म सफल हुनेछ। मलाई चीन, बुझ।

मेरो स्क्रीनमा देखा पर्ने फेसबुक, टिक टिक, इन्स्टाग्राम, युट्युब जस्ता सामाजिक सञ्जालले तिमीलाई, तिमी को हो भनेर  बिर्साएको त छैन?

प्रिय प्रयोगकर्ताहरु,

त्यहाँ पर्दामा देखिने भर्चुअल पत्र मात्र हुन्।  यिनीहरुको खुसी र हाँसो पर्दाभित्र मात्र सीमित हुन सक्छ। किनकि त्यो केही समाएको बनावटी मात्र हो। त्यो  चाल चलन, रहनसहन र जीवनशैली भर्चुअल पर्दामा प्रस्तुत गरिएको हो। पर्दाका रंगीविरंगी पात्रहरुलाई पर्दा पश्चात मैले मज्जाले चिनेको छु। देखेको छु। हेरेको छु। बुझेको छु।  म हरहमेशा उनीहरूकै हातमा हुन्छु।

अनि, तिमी किन काल्पनिक र भर्चुअल पत्रमा मोहित हुँदै आफ्नो काम, कर्तव्य र जिम्मेवारीलाई लत्याई रहेका हुन्छौ?  सामाजिक सञ्जालको जञ्जालभित्र अचेत रूपमा नहराउ। यहाँभित्र अचेतन रूपमा हराउन थालेपछि आमाको माया त्यागिने छ। बाबाको सपनी बिर्सनेछ। साथीको प्रेम बुझ्न कठिन हुनेछ। विराट प्रकृतिको अनन्त अनुभवलाई महसुस गर्न सकस हुनेछ।

दया, माया, करुणा भावलाई नजिकबाट चिन्न भूल हुने छ। म कसका लागि? के का लागि याे संसारमा आएँ भन्ने भुल्ने छौ। वास्तविक म को हो भन्ने कुरा भुल्ने छौ। अन्तत: यसरी भनौं न तिमी आफूले आफूलाई भुल्ने छौ।

अधिकतम मानव जमातलाई मैले धेरै नजिकबाट नियाली रहेको हुन्छु। फेसबुक च्याटभित्र काल्पनिक वार्तालावमा नसा सेवन गरेझैं झुमिएका युवा युवतीलाई देख्छु। विवाहित अधवैंसे सुड्डाहरु अविवाहितको नाटक बुन्दै समय बर्बाद गरिरहेको देख्छु, गराइरहेको देख्छु।

युट्युबभित्र बेकार समय, शक्ति र सम्बन्ध बर्बाद गरिरहेका युवा जमात देख्छु। गुगल क्रोममा प्रोनोग्राफी हेरिरहेका लाखौं मानिसको हरकत हेर्दै हाँस्छु पनि। टिकटकमा ज्यान फालेर खोक्रो चर्चा परिचर्चाका भोगीहरुको हरकत हेरिरहेको हुन्छ। भिडियो गेमले खान, लाउन र सुत्न बिर्सेका केटाकेटीलाई नियाल्छु। इन्स्टाग्राममा राखेका क्यामेराले कैद गरुन्जेलसम्मका मुस्कानरुपी तस्बिरहरु नियाल्छु। म आफैँ अचम्म मान्छु।

यो बाहेक म धेरै हेरिरहेको हुन्छ। देखिरहेको हुन्छु। संसारलाई ज्ञान छरिरहेका महान हस्तीहरुलाई हेरिरहेको हुन्छु।

वातावरण संरझण, जैविक विविधता, हरितगृह प्रभाव जस्ता मानव कल्याणकारी खोज अनुसन्धानमा लागि परिरहेका अनुसन्धानकर्मी देखिरहेको हुन्छु। उनीहरुको परिश्रम नियाली रहेको हुन्छु। ज्ञान, विज्ञान, परमज्ञान, याेग, ध्यान, ब्यायाम विधाका प्रवचन सुन्ने बौद्धिक व्यक्ति हेरिरहेको हुन्छ। आफ्नो बुद्धि र स्वास्थ्यको लागि समय छुटाउने बुद्धमानी मानिस देखिरहेको हुन्छ। अध्ययन, अनुसन्धान र अविष्कार गर्ने विद्यार्थी जमात नियाली रहेको हुन्छु।

खाडी मुलुकको छोराको अनुहार देखेर खुसीले फुरुङ्ग हुने आमाको खुसी देखिरहेको हुन्छु। व्यापार व्यवसायलाई संसारभर बजारीकरण गर्ने उद्यमीलाई हेर्छु। मलाई मनोरञ्जनको आधार बनाएको रोगी(मनोरोगी) को मुस्कान देख्छु। म पनि मुस्कुराई दिन्छु मुसुक्क।

हो, मलाई उचित उपयोग गर्नु नै जीवनलाई सुखी, समृद्ध र सफल बनाउनु हो।

प्रकाशित मिति: : 2021-08-18 20:00:00

प्रतिकृया दिनुहोस्

    Ramro cha

    • एक बर्ष अगाडि
    • Padam Raj Joshi