'अफगानलाई रक्तपातबाट बचाउन देश छोड्ने निर्णय लिएँ'

Photo- Reuters
Photo- Reuters

अफगानिस्तानको विद्रोही समूह तालिबानले राजधानी कब्जा गरेपछि राष्ट्रपति अशरफ घानीले पदबाट राजीनामा दिएर देश छाेडेका छन्।

अफगान छोडेर ताजिकिस्तान पुगेका उनले देशलाई रक्तपातबाट बचाउन आफू भाग्न बाध्य भएकाे सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्।

राष्ट्रपति घानीले भने, ‘मैले कठिन निर्णय लिएँ। तालिबानको सामना गर्ने वा देश छोड्ने विकल्प रोज्नुपर्ने थियो। तालिबान मलाई हटाउन काबुल छिरिसकेका थिए। उनीहरू काबुल र यहाँका नागरिकमाथि आक्रमणका लागि आएका हुन्। रक्तपात रोक्न मैले यस्तो निर्णय गरेको हुँ।’

उनले काबुल कब्जा गरेसँगै तालिबानले जित हासिल गरेकाे समेत बताएका छन्। ‘अब अफगान जनताको सुरक्षाका लागी तालिबानहरू जिम्मेवार छन्,’ राष्ट्रपति घानीले भने।

काबुलमा प्रवेश गरी राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेकाे छ। 

राष्ट्रपति अशरफ घानी, उपराष्ट्रपति अमिरुल्लाह सालेहसहित दर्जनाैँ सहयाेगीहरू काजिकिस्तान भागेका छन्। तालिबान लडाकु काबुल गेट छिरेसँगै उनकाे समूहले अफगान छाड्ने निर्णय लिएको हाे।

अफगानिस्तानमा अब युद्ध सकिएको समेत तालिबानका ती प्रवक्ताले जनाएका छन्। 'हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता,' उनले भने।

तालिबानले अफगानिस्तान कब्जा गरेपछि नयाँ राष्ट्रपतिबारे चर्चा सुरू भएकाे छ। 

तालिबानका शीर्ष नेता मुल्ला अब्दुल घानी बरादर अफगानिस्तानको नयाँ राष्ट्रपति घोषित हुने सम्भावना रहेकाे समाचार संस्थाहरूले जनाएका छन्।

उनी विद्राेही संगठन तालिबानको संस्थापक नेतामध्ये एक हुन्। बरादर अहिले संगठनको राजनीतिक विभाग प्रमुख छन्।

२० वर्षको लडाइँपछि अमेरिकी सेना फिर्ता भएको केहिदिन भित्रै तालिबानले अफगानकाे पूर्णरूपमा आफ्नो नियन्त्रण लिएकाे छ। 

प्रकाशित मिति: : 2021-08-16 08:32:00

प्रतिकृया दिनुहोस्