काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त (भिडियाेसहित)

Photo - CNN
Photo - CNN

काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका प्रत्यक्षदर्शीले बीबीसीलाई बताएअनुसार कर्मचारीहरूले आफ्नो कार्यस्थल छाडेका र मानिसहरू जहाजतर्फ दौडिरहेका थिए।

अमेरिकाले काबुलको रक्षाका लागि तैनाथ गरेको उसका ६ हजार फौजलाई अब विमानस्थल परिसरको सुरक्षामा खटाइने बताइएको छ।

अमेरिकी विदेश तथा रक्षा मन्त्रालयहरूले उनीहरूले विमानस्थलको रक्षाका निम्ति विभिन्न कदमहरू चालिरहेको ताकि अमेरिकी तथा गठबन्धन सदस्यहरूलाई गैरसैनिक एवै सैनिक विमानमार्फत् उद्धार गर्न सकियोस् भनेका छन्।

अमेरिकासहित पश्चिमा देशहरूले हतारहतार आफ्ना नागरिक तथा अन्यको काबुलबाट उद्धार गरिरहेको बताइएको छ।

तालिबानको नियन्त्रणमा नआएको सबैभन्दा ठूलो सहर काबुल रहेको थियो।

तालिबानले महिनौँदेखि अफगानिस्तानका विभिन्न क्षेत्रमा नियन्त्रण सुरु गरेको थियो।

पछिल्ला दिनहरूमा त्यो गति निकै तीव्र देखिएको छ।

लगभग सबै विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि उक्त विद्रोही समूहले आफ्नो नियन्त्रण कायम गर्न सफल भएको हो।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन्।

उनले अर्को देशको आन्तरिक द्वन्द्वमा कहिल्यै अन्त्य नहुने अमेरिकी उपस्थितिलाई आफूले उचित ठहर्‍याउन नसक्ने बताएका छन्।

तालिबानले आइतवार आफ्ना लडाकूहरूलाई काबुलमा प्रवेश गर्न आदेश दिएको थियो। सुरुमा उसले आफ्ना लडाकूलाई काबुल वरिपरि मात्र तैनाथ गरेको थियो।

सुरक्षा फौजले राजधानीका भागहरू छाडेपछि त्यहाँ उत्पन्न अराजकता र लुटलाई रोक्न गइरहेको तालिबानले बताएको थियो।

अल जजिरा टेलिभिजनले प्रसारण गरेका भिडिओ फुटेजहरूमा तालिबान लडाकूहरू राष्ट्रपति भवनभित्र हतियारसहित देखिएका छन्।

प्रकाशित मिति: : 2021-08-16 07:13:00

प्रतिकृया दिनुहोस्