दलित पुजारी भन्छन्- डा.केसीलाई टीका लगाउन पाउँदा हिम्मत बढेको छ

दलित पुजारी लक्ष्मण रम्तेलले डा. गोविन्द केसी सहित नागरिक अगुवालाई टीका लगाउन पाउँदा हिम्मत बढेकाे बताएका छन्। थप सामग्री : https://www.himalkhabar.com/news/125374

हिमाल खबर

काठमाण्डौ

पण्डित दीनबन्धु पोखरेलले रम्तेललाई ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरस्थित गणेश मन्दिरको पुजारी घोषणा गरेका थिए। पुजारी भएकोमा खुशी लागेको बताउँदै उनले ‘दलित पुजारी भनेर टीका नथाप्ने पो हुन् कि भन्ने चिन्ता लाग्छ’ भनेका थिए।

यो समाचार हिमालखबरमा प्रकाशित भएपछि डा.केसी सहित नागरिक अगुवा टीका थाप्न आइतबार गोदामचौर पुगेका हुन्। “पुजारी रम्तेलको आत्मविश्वास बढाउन उनको हातबाट टीका लगाउन पुगेँ,” डा.केसीले भने।

पुजारी रम्तेलको हातबाट टीका थाप्दा खुशी लागेको उनले बताए। “उहाँको हातबाट टीका, प्रसाद र आशीर्वाद लिन पाउँदा खुशी भएको छु,” डा. केसीले भने।

डा.केसीसँगै टीका थाप्न पुगेका अधिवक्ता ओमप्रकाश अर्यालले पुजारी रम्तेलको हौसला बढेको बताए। डा.केसी सहितको टोली पहिलो पटक यस्तो कार्यक्रममा सहभागी भएको बताउँदै अर्यालले भने, “टीका ग्रहण कार्यक्रमले पुजारी रम्तेलको हौसला बढ्ने आशा गरेका छौं।”

गाउँलेका अगाडि डा.केसी लगायतलाई टीका लगाउन पाउँदा खुशी लागेको पुजारी रम्तेलले बताए। “जीवनमा खुशी भएका दिनमध्ये आजको दिन पनि थपिएको छ,” उनले हिमालखबरसँग भने, “डा.केसीलाई टीका लगाउन पाउँदा हिम्मत बढेको छ।”

कार्यक्रममा समाजसेवी, लेखक, कानून व्यवसायी लगायत विभिन्न क्षेत्रका व्यक्ति गोदामचौर पुगेका थिए। सबैले टीका र प्रसाद ग्रहण गरेर गणेश मन्दिर बनाउनका लागि आर्थिक सहयोग पनि गरेका छन्। 
 

प्रकाशित मिति: : 2021-08-15 17:24:00

प्रतिकृया दिनुहोस्